हिमपातले विदेशी पर्यटकसहित १२ जना तुम्लिङमै फसे

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जना बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् ।

लिमीको ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसके पछि स्लोभेनियाका चार नागरिक, तीन जना गाइड र पाँच जना स्थानीय गरी १२ जना तुम्लिङमा रोकिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

ट्रेकिङमा आएका स्लोभेनियाका नागरिकको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रजिअ आचार्यले जानकारी दिए । प्रजिअका अनुसार बुधबार मौसम सफा नभएको कारण उद्धार हुन सकेन ।

उद्धारका लागि हेलिकोप्टर मगाइएको र बिहीबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ । हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुले बाटो छिचोल्न सकेका छैनन् ।

२२ असोजमा सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएको टोली र ट्रेकिङपछि न्यालु लेक हुँदै सिमकोट आउने कार्यक्रम थियो । तर न्यालु लेकमा बाक्लो हिमपात भएपछि फर्कन नसकेको रिऋा टुरका हुम्ला प्रतिनिधि पेमा लामाले बताए ।

न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात भएको छ । त्यसैले गर्दा बाटो अवरुद्ध बनेको नाम्खा गाउँपालिका–६ को वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.