संखुवासभा । २० भदौ
संखुवासभाको चिचिला गाउँपालिका-१ मा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु हुनाका साथै १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा तकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ८०८३ नम्बरको मिनी ट्रक शनिबार राति चिचिला-१ पात्लेमा दुर्घटना हुँदा चालकको मृत्युका साथै १० घाइते भएका हुन् ।
‘दुर्घटनामा चालक धनकुटाको महालक्ष्मी नगरपालिका-६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएकाे हो,’ उनले भने,‘पाण्डेको शव ट्रकले किचेकाे अवस्थामा फेला परेकाे थियाे। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइदैछ ।’
दुर्घटनामा घाइते १० मध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते खाँदबारी नगरपालिका-७ का २९ वर्षीय बब्लु मगर, भारतकाे आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
घाइते १० मध्ये आठजना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । दुर्घटनामा भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन् । खाँदबारी नगरपालिका-८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइते मध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।