असी लाख रुपैयाँसहित युवक पक्राउ

काठमाडौं । भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी घर भएका  चित्र बहादुर पुन रहेका छन् । हाल उनी कोटेश्वर बस्दै आएका थिए । 

प्रहरीले गएको बुधबार साँझ ८ बजे मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गरेको थियो ।  प्रहरीले चेक गरेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका पुनलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुछ गर्दा घरमा थप ५० लाख रुपैयाँ भएको खुलेको  प्रहरी नायव उपरीक्षक दीपक गिरीले जनाएका छन् । अहिले पुनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको उनले बताए ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.