सुरु–सुरुमा पठाओले राम्राे सेवा दियो । अहिले पठाओकाे सेवा राम्रो नभएको पाइन्छ। विस्तारै यसले यात्रुलाई दुःख दिन थालेको छ । त्यति मात्र नभई यात्रुहरु पठाओबाट ठगिने समेत गरेका छन् ।
काठमाडौं । असोज १८ गते, रातको १० बज्न लागेको थियो । सन्ध्याकालीन समय समाप्त भएर रातले छिप्पिने तरखर गर्दै थियो ।
काठमाडौंको चन्द्रागीरीमा नेपाल बेष्ट म्यूजिक अवार्ड सकाएर क्विक नेपालका फाटोग्राफर संजय खड्का र संवाददाता घर फर्कदै थिए । रातकाे समय सार्वजनिक सवारी पाउन मुस्किल हुने भएपछि, पठाओ प्रयोग नै उत्तम विकल्प बाँकी थियो ।
कलंकी चोकमा पुग्दा पठाओ चालकको लाइन देखियो । एप खोलेर मोबाइलको डाटा किन सकाउनु भन्ने सोचले सञ्जयले एक पठाओ चालकलाई पेप्सिकोलासम्म पुग्न कति लाग्छ भनेर सोधे ।
पठाओ चालकले रातको समय हो, अफलाइन् जान्छु ५ सय रुपैयाँ लाग्छ भने । उनको जवाफ सुन्ने बित्तिकै संजय जंगिएर, अर्कै चालकसँग जान्छु भन्दै त्यहाँबाट हिड्न खोज्दा, उक्त चालकले नगए कुनै कर छैन, भन्दै जवाफ फर्काए । अन्तत: एप खाेलेर संजयले पठाओ बोलाई, दुई सय ७९ रुपैयाँमा संजय आफ्नो बासस्थान पेप्सिकोलातर्फ लागे ।
यस्तै घटना पठाओ प्रयोगकर्ता विशाल पुरीकाे पनि छ । बेलुकाको ७ बजेको थियो । उनले तीनकुनेबाट कपनसम्म जानका लागि पठाओ चालक माग गरेका थिए । तीनकुनेबाट विशालले पठाओमा देखाएको जति नै चालकलाई एक सय ४४ रुपैयाँ दिएर बाइक चढेका थिए । कपन पुगेपछि उक्त चालकले विशालसँग १ सय ७५ रुपैयाँ मागेकाे विशालले भने ।
अर्काे घटना छ, अनामनगरको । दिउँसो ४ बजेको थियो । विजय लामिछानेलाई अनामनगरबाट ग्वार्को जानु पर्ने भयो । उनीसँग साधन नभएपछि उनले पठाओ माग गरे । पठाओ माग गर्दा सुरुमा चालक आउन तयार भए । तयार भएकाे दश मिनेटपछि पनि चालक आइपुगेनन् । एक्कासी चालकले पठाओ रद्ध गरे । विजयले चालकलाई फोन गरे । चालकले आफू अन्तै जानु पर्ने बताए ।त्यसपछि उनले पठाओमा अर्को चालक माग गर्ने सोच गरे । पठाओमा कुनै चालक भेटिएनन् । पठाओ चालक तीन चार पटकसम्म पनि नभेटिएपछि उनी हतारमा त्यहाँबाट कोटेश्वरसम्म नेपाल यातायात चढ्न बाध्य भए ।
त्यस्तै उमेश न्यौपानेलाई बालाजु माछापोखरीबाट बागबजार जानुपर्ने थियो । समय थियो विहानको ९ बजे । पठाओमा एक सय ६ रुपैयाँ देखायो । उमेशलाई लिन पठाओ चालक १५ मिनेटमा आइपुगे । उनी बागबजार लागे । बागबजार पुग्दा उनले एक सय १० रुपैयाँ दिए । चालकले एक सय ४० रुपैयाँ माग गरे । उमेशले एक सय ६ रुपैयाँ देखाएको भन्दै एकसय १० रुपैयाँ लिन आग्रह गरे । तर पठाओ चालकले जाममा परेको र अर्को बाटोबाट आएको भन्दै एकसय ४० रुपैयाँ दिन आग्रह गरेपछि उमेशको केही लागेन ।
यस्ता घटनाहरु दैनिक पठाओ प्रयोग गर्नेका लागि साधारण नै लाग्न सक्छ । यी घटनाले पठाओमा मनपरी बढेको देखाउँछ । सुरुवाती दिनमा भन्दा अहिले पठाओमा समस्या हुन थालेको पठाओ चालक शनिम श्रेष्ठ बताउँछन् । उनले जागिर छोडेर चालक बनेको २ वर्ष वित्न लाग्यो । यो समयभित्र जागिरबाट भन्दा राम्रो कमाई गरेका छन् । तर, अफलाइन हिड्ने चालकहरुका कारण पेशा नै बदनाम हुन थालेको छ । कतिले उठेको भन्दा बढी रकम माग गर्ने गरेको उनले स्विकारे ।
शमिनले भने पठाओकाे तुलनामा टुटल सस्तो र नेपाली कम्पनी पनि भएकाले यात्रुहरु विस्तारै टुटलतिर लागेको शनिमले बताए । काम सुरु गर्दाको समय पठाओ एपमा आएको रिक्वेष्टबाट यात्रुलाई गन्तव्यमा पुराउँदा छुट्टै इज्जत पाइन्थ्यो । तर अहिले चोक चोकमा ढुकेर बस्नेहरुका कारण त्यो सम्मान र कमाई घट्दै गएको उनको अनुभव छ ।
काठमाडौं उपत्यकाभित्र पठाओ रुचाउनुको कारण पनि सुरक्षित र छिटो हुने भएरै हो । तर, सुरक्षित र छिट्टो मानिएको पठाओबाट दैनिक यात्रु ठगिरहेका छन त कतै यात्रुले सास्ती खेप्नु परेको छ । सुरुमा सरकारले पठाओलाई करको दायरामा ल्याउनु पर्ने र नियमन गनुपर्ने धारणा बनाएको थियो । त्यस लगतै सरकारको चर्को विरोध भयो । र, पठाओ मनोमानी चल्न सुरु भयो । सुरु–सुरुमा पठाओले राम्रै सेवा दियो । विस्तारै यसले यात्रुलाई दुःख दिन थालेको छ । त्यति मात्र नभई यात्रुहरु पठाओबाट ठगिने समेत गरेका छन् ।
करिब एक लाखको हाराहारीमा चालक भएको पठाओ पछिल्लो समय भने ट्याक्सीवाला जस्तै बार्गेनिङमा चल्न थालेको छ । यसले यात्रुलाई सास्ती हुने गरेको छ । ट्याक्सीले मिटरमा हिड्न नमान्ने र बार्गेनिङका कारण हैरान बनेका यात्रुले पठाओबाट पनि हैरानी खेप्न परेको छ ।
केही समय पठाओको ड्रेस लगाएका चालक प्रायः चोकतिर देखिन्थे । आफ्ना यात्रु खोसेर लगेको भन्दै ट्याक्सी चालकले झगडा गरेपछि अहिले ड्रेस नलगाइ चालकहरु बार्गेनिङमा चल्न थालेका छन् । पठाओ बंलादेशबाट नेपाल भित्रिएको कम्पनी हो ।