धनगढी । नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियूले बाढीपहिरो पीडितलाई राहतको माग राखेको छ।
शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियू सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनालीसहितको टोलीले सो माग गरेको हो ।
सो क्रममा उनीहरुले मुख्यमन्त्रीसँग बाढीपहिरोका पीडितलाई राहत, घरबारविहीनलाई उचित बसोबासको व्यवस्था र बेपत्ता भएकाहरुको खोजी कार्य गर्न माग गरेका छन् ।
बाढीपहिरोबाट धानबालीमा भएको क्षतिको विवरण संकलन गरेर सम्पूर्ण किसानलाई क्षतिपूर्ति दिनुपर्ने तथा विपद् व्यवस्थापनमा सबै प्रशासनिक संयन्त्रको प्रयोग गरी कार्यान्वयनमा समेत ध्यान पुर्याउन उनीहरुको माग छ ।
संकटका बेला सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको भन्दै युवालाई स्वयंसेवकको रुपमा परिचालन गर्न अनेरास्वयुले आग्रह गरेको छ ।
मुख्यमन्त्री भट्टका अनुसार तीनै तहको सरकार मिलेर राहत तथा उद्दारको काम गरिरहेका छन् ।
गएको आइतबारदेखि परेको अविरल वर्षाका कारण बाढी तथा पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते र २२ जना बेपत्ता भएका छन् ।