कुखुरापालन व्यवसाय, स्वरोजगार र आम्दानीको उपाय

एक हजार ब्रोइलर कुखुरा पाल्नका लागि सातदेखि आठ लाख रुपैयाँ आवश्यक पर्छ । तर लेयर्स कुखुरा पालनका लागि भने १० लाख रुपैयाँ लाग्छ । सिआरडी, इ–कोलाइ, रानीखेत, गम्बोरोजस्ता रोग लाग्नबाट बचाउन सक्दा कुखुराबाट राम्रो आम्दानी हुन्छ ।

काठमाडौं । विगत केही वर्षदेखि नेपालमा कुखुरापालन व्यवसाय फस्टाउँदो क्रममा छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले या्े व्यवसायप्रति धेरैको आकर्षण बढेको हो ।

चाडपर्व, विवाह, भोजहरुमा अधिक मात्रामा कुखुराको मासु उपभोग हुने भएकाले कुखुरापालन व्यवसाय आम्दानीको राम्रो स्रोत बनेको छ ।

थोरै लगानीबाट व्यवसाय सुरुवात गर्न सकिने भएकाले युवा उद्यमीहरु कुखुरा पालन व्यवसायतर्फ आकर्षित छन् ।

हावापानी र भौगोलिक अनुकुलताका कारण कुखुरापालन व्यवसाय नेपालकाे तराईदेखि पहाडी भेगसम्म गर्न सकिन्छ ।

नेपालमा कति प्रकारका कुखुरा पाइन्छ ?

नेपालमा स्थानीय रूपमा पालन गरिने कुखुराको प्रकारमा साकिनी, घाँटीखुइले, प्वाँखउल्टे र लुइँचे छन् । यी कुखुरा व्यवसायिकभन्दा पनि घरमा सानो संख्यामा पाल्ने गरिन्छ ।

व्यवसायिक रूपमा पालन गरिने मध्ये मासुका लागि ब्रोइलर कुखुरा पालिन्छ । नेपालमा कव एकसय र कव पाँचसय ब्रोइलरका दुई जात पाइन्छन् ।

अण्डाका लागि पालन गरिने लेयर्समा हाइलेन र लोहमेन जात धेरै लोकप्रिय छन् ।

ब्रोइलरको तुलनामा लेयर्सको उत्पादनमा समय र खर्च दुबै धेरै लाग्ने गर्छ । यसका अलावा नेपालमा क्रोइलर र गिरिराज जातका कुखुरा पनि पालन गरिन्छ ।

ब्रोइलर कुखुरापालन

ब्रोइलर कुखुरापालन व्यवसायबाट छोटो समयमा आम्दानी गर्न सकिन्छ । त्यसैले धेरैजसो किसानहरूको ब्रोइलर कुखुरापालन व्यवसायप्रति आकर्षण छ ।

यस प्रकारका कुखुराको चल्ला हालेको ४० देखि ४५ दिनमा उपभोग गर्न सकिन्छ । कुखुरा बेच्नको लागि थोरैमा साढे दुई केजीसम्म तौल भएको उपयुक्त मानिन्छ ।

लगानीका दृष्टिले ब्रोइलर कुखुरा अन्य कुखुराभन्दा केही सस्तो पर्न जान्छ । स्वास्थ्यका हिसावले पनि यो दीर्घ रोगीलाई असर नगर्ने मानिन्छ ।

खसी बोकाका मासुमा प्रोटिन पदार्थ धेरै हुन्छ । यस्ता मासु रातो पनि हुने हुनाले दीर्घ रोगीहरुले खान नमिल्ने चिकित्सकहरूको सुझाव हुन्छ ।

रातो मासु खान नहुने विभिन्न बिरामीहरुले खाने हुँदा ब्रोइलर कुखुराको मासुको उपभोग धेरै हुने गरेको छ ।

लेयर्स कुखुरापालन

लेयर्स कुखुरा पाल्नका लागि ब्रोइलरमा भन्दा बढी लगानी गर्नु पर्ने हुन्छ । लेयर्सले करिब पाँच महिनापछि मात्र अण्डा दिन सुरु गर्छ । लेयर्स कुखुरा पालनमा ब्रोइलरको तुलनामा दानापानी र समय धेरै खर्च हुने गर्छ ।

राम्रो दाना र हेरविचार भएमा लेयर्स कुखुराले १८ महिनादेखि दुई वर्षसम्म अण्डा दिने गर्छ ।

लेयर्स पालनमा समयसँगै हेरविचार पनि धेरै लाग्ने गर्छ । चल्ला ल्याएको पहिलो दिनदेखि करिब एक सय १६ दिनसम्म विभिन्न रोगको भ्याक्सिन दिइरहनु पर्ने हुन्छ । ती भ्याक्सिन नलगाएमा भने रोग लाग्ने, वजन नबढ्ने र अण्डा नदिने हुन सक्छ ।

लेयर्स कुखुराको प्रायः आठ दिन र ३६ दिनमा कुखुराको चुच्चो काट्नु पर्ने हुन्छ । यदि चुुच्चो नकाटेको खण्डमा एकले अर्कालाई ठुङ्ने र मर्ने हुन्छ ।

लेयर्सले करिब २० हप्तापछि भने दैनिक रूपमा अण्डा दिन थाल्छ । यो आम्दानीको स्रोत हो ।

कुखुरालाई कस्ता दाना खुवाइन्छ ?

सामान्यतयाः कुखुरालाई भुटेको र काँचो दुई प्रकारको दाना खुवाइन्छ । काँचो दानाको तुलनामा भुटेको दाना महंगो पर्छ । स्वास्थ्य र राम्रो वजनका लागि उत्कृष्ट दानाको छनौट गर्नु पर्ने हुन्छ ।

कुखुराको शरीरमा ५५ देखि ६५ प्रतिशतसम्म पानीको मात्रा रहन्छ । कुखुरालाई दानासँगै पानीको मात्रा पनि मिलाएर खुवाउनु पर्ने हुन्छ । कुखुरालाई पानी खुवाउनु अगाडि पानी चेकजाँच गरी शुद्धता र औषधीय मात्रा मिलाउनु पर्छ ।

कुखुराको आहारामा प्रोटिन, कार्बाेहाइड्रेड, भिटामिन र खनिज पदार्थको मात्रा मिलाउनु पर्छ । जसले गर्दा कुखुराको वृद्धि विकास हुन्छ । र, राम्रो आम्दानी गर्न सकिन्छ ।

कति लगानीमा सुरुवात गर्न सकिन्छ, कुखुरापालन ?

सुरुवातमा सानो संख्यामा जस्तै एक हजार ब्रोइलर कुखुरा पाल्नका लागि सातदेखि आठ लाख रुपैयाँ आवश्यक पर्छ । खोर निर्माण कार्य, कुखुरा बेच्ने समयसम्म खपत हुने दाना, औषधी उपचारलगायत अन्य खर्च पनि आवश्यक रहन्छ ।

ब्रोइलरको तुलनामा एक हजार लेयर्स कुखुरा पाल्ने हो, भने १० लाख रुपैयाँ आवश्यक पर्छ । रकम बढी लाग्नुमा लेयर्स पाल्न लामो समय लाग्छ । लेयर्सलाई पालनको दोस्रो दिनदेखि नै विभिन्न प्रकारका खोप एक सय १६ दिनसम्म लगाइराख्नु पर्ने पनि हुन्छ ।

कस्तो ठाउँमा खोर बनाउनु उचित हुन्छ ?

कुखुराको खोर निर्माण गर्दा भने विशेष ध्यान दिनुपर्ने हुन्छ । खोर सकेसम्म बस्तीबाट टाढा र हावा चल्ने स्थानमा बनाउनु राम्रो हुन्छ । खोर वरपर बालीनाली नभएको ठाउँ राम्रो मानिन्छ ।

बालीनालीमा लाग्ने सरुवा रोग कुखुरामा संक्रमण हुने सम्भावना रहने हुँदा, यस्तो मानिएको हो । तथा बालीनालीमा प्रयोग भएका विषादीले असर गरेर कुखुरा मर्ने, बिरामी हुने सम्भावना रहने हुनाले पनि यस्तो मानिन्छ ।

कुखुरामा सिआरडी, इ–कोलाइ, रानीखेत, गम्बोरोजस्ता रोग लाग्ने गर्छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.