पोखरा । महानगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ ।
उपचारपछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्य वाहक मेयरको जिम्मेवारी दिए । बैठकमा कांग्रेसले असहमति जनाएको छ ।
बैठकमा सहभागी भए पनि कांग्रेस तर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षर गरेनन् ।
बैठकमा काङ्ग्रेसले एजेण्डा समयमा उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफूखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको हो ।
यस अघि पनि बैठकले दिएको सुझावभन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताए ।
‘एजेण्डामा हामीले सुझाव दिन्छौं । कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन । महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग गर्यो ।’ उनले भने, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं । हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं ।’
आफूहरुले विश्वास गरेर हस्ताक्षर गरे पनि त्यसको दुरुपयोग गरेको उनको आरोप छ ।
उनले महानगरले बैठक अघि समयमा नै एजेण्डा नदिएको आरोप लगाएका छन् । ‘एजेण्डा बैठकको अघिल्लो दिन मात्रै आउँछ । अध्ययन र आन्तरिक रुपमा छलफल गर्ने समय पनि हुँदैन ।’ अर्का वडाध्यक्ष शंकर बास्तोलाले भने।' 'समयमा एजेण्डा नपाए बैठकमा गएर के बोल्ने ? के सुझाव दिने ?’ बैठकमा कांग्रेसका ११ वडाध्यक्षहरुले विरोध जनाएका थिए ।
बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत् मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ ।
जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगर प्रवक्ता धनबहादुर नेपालीले बताए । यस अघि महानगरले १० लाख रकम नगर प्रमुख जिसीलाई दिएको थियो ।