कांग्रेस महाधिवेशन : जुम्लामा ५८ वडामा नेतृत्व चयन हुँदा एकजना मात्रै महिला
कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुँदै आएको छ ।

दिलमाया शाही

जुम्ला, २० भदौ

सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुँदै आएको छ ।

जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेश जिल्ला कार्यासमितले बताएको छ । बाँकी दुई वडामा पनि सहमतिमै चयन गर्ने प्रयास भइरहेको पार्टी सचिव कार्मा बुढाले बताए ।

जुम्लाका ६० वडामध्ये ५८ वटा वडामा नयाँ नेतृत्व चयन गर्दा एक वडाले मात्रै महिला नेतृत्व पाएको छ । राज्यले राजनीतिमा महिला सहभागीता ३३ प्रतिशत कायम गरेको छ । तर, जुम्लामा ६० मध्ये ५८ वटाको नेतृत्व चयन हुँदा महिला एकजनामात्र परेकी छन् । तिला गाउँपालिका २ की सीता रावत वडा सभापतिमा चयन भएकी हुन् ।

जिल्ला सभापतिको लागि रस्साकस्सी

नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि जिल्ला सभापतिमा भने रस्साकस्सी हुने देखिएको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दिपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाय, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सुजुवालको नाम चर्चामा रहेको छ । २७ भदौमा गाउँपालिकास्तरीय अधिवेशन, १ असोजमा प्रदेश क्षेत्रस्तरीय अधिवेशन र ५ असोजमा जिल्ला अधिवेशन हुन लागेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.