बाढी पहिरो पीडितलाई थप राहतको व्यवस्था हुन्छः प्रधानमन्त्री

इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् ।

इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहतसम्बन्धी निर्णय लिने बताएका हुन् ।

देउवाले सरकारले यस अघि नै मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिसकेको स्मरण गर्दै सरकारले थप राहतको व्यवस्था गर्ने घोषणा गरेका हुन् । ‘पहिरोले घर बनाउने ठाउँ नहुनेलाई जग्गा जमिन दिएर भए पनि घर बनाइदिने र घर भत्किएकाहरूलाई घर बनाउन मद्दत गर्छौ ।’ उनले भने ‘हामीले स्थलगत रूपमै अध्ययन गरेका छौँ, भएको क्षति नोक्सानीको सरकारले मूल्याङ्कन गरेर क्याबिनेट बसेर निर्णय लिन्छौ ।’

प्रधानमन्त्री देउवाले बेमौसममा परेको पानीले मेचीदेखि महाकालीसम्म ठूलो क्षति पुर्‍याएको बताए । उनले भने सरकार पीडितहरूको साथमा छ ।

पहिरो पीडितलाई सम्बोधन गर्दै उनले भने ‘हामी तपाईहरूको साथमा छौँ, त्यही भएर हामी आएका हौं ।’

प्रधानमन्त्री देउवाले बाढीपहिरोले प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताएका छन् । ‘नेपाल गाउँको देश हो, नेपालबाट गाउँ हटाउँन सकिँदैन’, देउवाले भने,‘ धेरैलाई गाउँको माया छ गाउँ छाड्न सक्दैनन् । गाउँमा गर्न सकिने कुरा गाउँमै पुर्‍याउन सकिन्छ ।’

देउवाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुनेसमेत दाबी गरे । कांग्रेस कार्यकर्तालाई छुट्टै सम्बोधन गरेका देउवाले भने ‘दुई चार दिन यताउता हुनु सामान्य कुरा हो, महाधिवेशन तोकिएकै मितिमा हुन्छ ।’ उनले सहमतिमै नेतृत्व चयनको प्रयत्न गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘भरसक सहमतिमै गर्नुहोस्, सहमति नभए प्रतिस्पर्धा हुन्छ । हार्नेले जित्नेलाई सघाउने हो ।’

बाढीपहिरो प्रभावित निरीक्षणका लागि ऊर्जा तथा जलश्रोतमन्त्री फम्फा भुसाल, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी थिए । बाढीपहिरोबाट पाँचथरमा ३० जनाको मृत्यु भएको थियो । १४ जना घाइते भएका थिए । चारजना बेपत्ता छन् । इलाममा १४ जनाको मृत्यु भएको थियो । दुईजना घाइते भएका थिए भने दुईजना बेपत्ता छन् । बाढीपहिरोले पारेको क्षतिको विषयमा प्रधानमन्त्रीलाई इलाम र पाँचथरका प्रमुख जिल्ला अधिकारीले ब्रिफिङ गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.