ताप्लेजुङ ।२० भदौ
ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका नौ जना जनप्रतिनिधि नेकपा (एमाले) छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन् ।
आइतबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली, एक जना वडा अध्यक्षसमेत नौ जनाले एकीकृत समाजवादीमा समाहित भएका हुन् ।
एकीकृत समाजवादी रोज्नेमा मेरिङ्देन गाउँपलिका- ६ नाल्बुका वडा अध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेन्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाकै विभिन्न वडाका वडा सदस्यहरू मानबहादुर लिम्बू, पूर्णबहादुर कामी, गजीन्द्रकुमार नाल्बो, दोर्जी शेर्पा, दिलमाया नेपाली र सूर्यमान बराइली छन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार नेकपा एमाले परित्याग गर्दै उनीहरूले नेकपा (एस)को पक्षमा सनाखत गरेका हुन् । मंगलबारसम्म जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय भएकाले ताप्लेजुङमा अझै केही जनप्रतिनिधिले एमाले छाडेर आफ्नो पार्टीमा सनाखत गर्ने एकीकृत समाजवादीले दाबी गरेको छ।