ताप्लेजुङमा 'एक घर एक धारा' कार्यक्रम सञ्चालन हुने

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा 'एक घर एक धारा' अभियान सञ्चालन हुने भएको छ ।

जिल्लाको एक दुर्गम गाउँ वा वडाको रूपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।

सिरिजङ्घा गाउँपालिकाले एक करोड १५ लाख रुपैयाँभन्दा बढी बजेट लगानी गरेर मामाङ्खेमा 'एक घर एक धारा' अभियान कार्यान्वयन गर्ने भएको छ ।

वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको छ । जिल्लाका सुदाप तथा मिक्लादेन टोलका प्रत्येक घरधुरीमा धारा जडान गर्ने गरी योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि एक करोड २६ लाख रुपैयाँ बराबरको बजेट लागत अनुमान गरिएको छ । लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

खानेपानी योजनामा वडाको बजेट सिलिङबाट १५ लाख रुपियाँ विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले बेहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए ।

हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँको रूपमा लिने गरिन्छ ।

अधिकांश अर्थात् ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालनमा नभएका कारण स्थानीयले समस्या खेप्दै आएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.