आज देशभर एमालेकाे पालिका अधिवेशन हुँदै

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले)ले आज मंगलबार देशभर पालिका अधिवेशन आयोजना गर्दैछ ।

गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज सात सय ५३ मध्ये बाढी पहिरो प्रभावितबाहेक सबै स्थानीय तहमा अधिवेशन गर्न लागेको हो ।

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल रुपमा उद्घाटन गर्नेछन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढी पहिरोले प्रभावितबाहेकका पालिका कमिटीको अधिवेशन हुन लागेको हो ।

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५ तथा उपमहानगर पालिकामा ८५ र महानगरमा एक सय एक सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन् ।

एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १० औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.