कहिले साटिन्छन्, पाँच सय र एक हजारका भारु ?

काठमाडौं । कालो धन र जाली नोटको कारोबार रोक्न २०७३ साल कात्तिक २३ गते, राति १२ बजे भारत सरकारले पाँच सय र एक हजारका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगायो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै यस्तो प्रतिबन्ध लगाएका थिए ।

यो घोषणासँगै भारतमा पाँच सय र एक हजारका नोटको कानूनी मान्यता रहेन् । यी रकम कागजमा परिणत भए । यसको असर नेपालमा पनि पर्‍यो । यो निर्णयले नेपालको आर्थिक क्षेत्रमा पार्ने असरको अध्ययन विभिन्न निकायले गरेका थिए । 

नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा. चिरञ्जीवी नेपालले व्यवस्थापन समितिको बैठक बोलाई पाँच सय र एक हजारका भारतीय रुपैयाँ साट्न बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेका थिए । 

राष्ट्र बैंकको उच्च व्यवस्थापन र भारतीय रिजर्भ बैंक (आरबीआइ) को उच्च व्यवस्थापनबीच नेपालमा भएका भारुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

आरबीआइका उच्च अधिकारीसँग पत्राचार र टेलिफोनको माध्यमबाट नेपालमा भएका भारु नोटको व्यवस्थापन गरिदिन प्रशासनिक पहल भएका थिए । 

भारतीय पक्षले नेपाल राष्ट्र बैंकलाई सकारात्मक पहल गर्ने आश्वासन दिएको थियो । भारतले ठोस निर्णय नदिएसम्म नेपालका बैंक, वित्तीय संस्था एवं मनी चेञ्जरहरुले भारु नसाट्ने निर्णय गरेका थिए ।

कति छ, नेपालमा पाँच सय र एक हजारका नोट ?

राष्ट्र बैंकको तथ्याङ्क अनुसार अहिले नेपालमा पाँच करोड बराबरको भारतीय रकम साट्नु पर्ने अवस्थामा छ ।

नेपाल र भारतबीच खुल्ला सीमाना भएकाले र एक अर्काे देशमा काम गर्न आउने जानेहरुको संख्या ठूलो रहेकाले यो रकम बढ्न सक्ने अवस्था छ ।

खासगरी नेपालका पश्चिमी जिल्लाहरुमा भारुको प्रयोग अत्यधिक हुने गरेको छ । 

नेपालको दुई तिहाई व्यापार भारतसँगै हुने भएकाले सीमा क्षेत्रका व्यवसायीहरुसँग भारु धेरै रहेको हुन सक्छ । यसको छानबिन अझै भएको छैन ।

के भइरहको छ, राजनैतिक र कूटनीतिक पहलकदमी ?

नेपालले प्रशासनिक र कूटनीतिक दुवै माध्यमबाट पहल भने गरिरहेको छ ।

भारतीय प्रधानमन्त्रीको निर्णय भएकाले यसमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकले कूटनीतिक पहलमार्फत् समाधान खोज्नु पर्ने हुन्छ ।

विभिन्न राजनैतिक र प्रशासनिक पहल हुँदा पनि भारतले अहिलेसम्म ठोस निर्णय लिएको छैन । 

पाँच करोड भारतीय रुपैयाँ भनेको देशको अर्थतन्त्रमा खासै फरक पर्ने रकम नभएको केही नेपाली अधिकारीहरुको बुझाई छ । यस्ता बुझाई समाधानको खोजीमा सहयोगी बन्दैन । 

प्रधानमन्त्रीका विशेष दूतका रुपमा भारत गएका पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले भ्रमणमा यो विषयमा पनि छलफल भएको बताए छन् । 

छलफलमा नेपालसहित सबै मुलुकमा रहेका भारतीय नोट एकै पटक साट्टने तयारी भइरहेको भारतीय पक्षको जवाफ थियो । यो समस्या समाधान गर्न अझ केही समय लाग्ने भारतीय पक्षको भनाई राणाले क्वीक नेपाललाई बताए ।

नेपालमा रहेका भारतीय रकम साट्न कानूनी प्रक्रियाले बाधा पुर्‍याएको हुन सक्छ । यद्यपि यो मुद्दाले भारतले नेपालको मुद्दालाई कसरी लिन्छ, भने पनि देखाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.