काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाईको पेसी सार्वजनिक गरेका छन् ।
कार्यपालिकामा भाग खोजेको लगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाईका गर्न पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने इजलासमा पेसी तोकेका छैनन् ।
असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नु अघि उनले मुद्दा सुनुवाईका लागि पेसी तोके पनि सुनुवाई भने अनिश्चित छ । प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नु पर्ने माग राख्दै आएका १४ जना न्यायाधीश अघोषित इजलास बहिष्कारको अभियानमा छन् ।
प्रधानन्यायाधीशले आठ वटा इजलासमा दुई सय १६ मुद्दाको सुनुवाईका लागि पेसी तोकेका छन् ।
सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए । तर, सुनुवाई हुन सकेकाे थिएन ।