जाजरकोट । नेकपा एमाले जाजरकोटले दुई पालिकासहित २५ वडामा अधिवेशन सम्पन्न गरेको छ ।
पार्टी सदस्यता नवीकरणको काम नटुङ्गेका कारण बाँकी वडामा ढिला भएको नेता निरज आचार्यले बताए ।
उनका अनुसार बारेकोट गाउँपालिकाका नौ वडा, नलगाड नगरपालिकाका १३ वडा र भेरी नगरपालिकाका ८, ११, ४ र ३ नम्बर वडामा मात्र अधिवेशन भएका छन् ।
भेरीकै १, २, ५, ६, ७, ८, ९, १०, १२, नम्बर वडामा भने अधिवेशन हुन सकेन ।
भेरीमा नेकपा (एकीकृत समाजवादी) बलियो भनिएका ठाउँमा मात्र अगाडी वडा अधिवेशन सम्पन्न गरिएको छ । अन्य वडामा मंगलबार र बुधबार अधिवेशन गर्ने तयारी छ । सबैभन्दा बढी फुटको प्रभाव रहेका वडा भेरी नै हो ।
कुशे गाउँपालिका भित्रका नौ वडा, छेडागाड नगरपालिकाका १३ वडा, शिवालय गाउँपालिकाका नौ वडा, जुनीचाँदे गाउँपालिकाका ११ वडा र छेगाडाड नगरपालिका १३ वटा वडामा अधिवेशन हुन् बाँकी रहेको नेता डम्बरबहादुर सिंहले बताए ।
नलगाड नगरपालिका र बारेकोट पालिका स्तरीय अधिवेशन आज गर्न लागेको नेता सिंहले बताए ।
जाजरकोटमा सात पालिकामा ७७ वडा छन् । ७७ मा २६ वडामा मात्र आज अधिवेशन भएको छ । सदस्यताको समस्या समाधान नभएसम्म सबै ठाउँमा अधिवेशन सम्पन्न नभएको नेता सिंहले जानकारी दिए ।
नेकपा एमाले डोल्पाका नेता लङ्कबहादुर रोकायका अनुसार डोल्पोबुद्ध गाउँपालिका बाहेक अन्य सबै पालिकामा वडा अधिवेशन सकिएको छ । आज मुड्केभचुला गाउँपालिकामा गाउँ कमिटी गठन हुँदै गरेको उनले बताए । डोल्पामा आठ स्थानीय तह रहेका छन् ।
ठूलीभेरीका ११, त्रिपुरासुन्दरीका ११, शे–फोक्सुण्डोका नौ, जगदुल्लाका ६, मुड्केचुलाका नौ, काइकेमाका सात र छाकाताङसुङका ६ वडामा अधिवेशन भइसकेको उनले बताए ।
डोल्पोबुद्ध गाउँपालिकाका ६ वडामा अधिवेशन हुन सकेको छैन ।
पार्टी सदस्यताको समस्या समाधान नभएकाले अधिवेशन हुन नसकेको हो ।