जबराले सुरु गरे सुनुवाई

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार (आज) बाट आफू एक्लैले मुद्दाको सुनुवाई सुरु गरेका छन् । 

जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिमा जुटिरहेका बेला जबराले सुनुवाई सुरु गरेका हुन् । 

दुई दिनसम्म पेसी तोकेपनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलास आफूलाई समेत तोकेका छन् ।

असन्तुष्ट १५ जना न्यायाधीशहरु भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनदेखि  छलफलमै छन् ।

सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरु रणनीति बनाइरहेका छन् । जबराले भने इजलासमा सुनुवाई थालेका हुन् । सुनुवाई थाले पनि बहसका लागि कानून व्यवसायीहरु भने इजलासमा पुगिसकेका छैनन् । 

एकजना कानून व्यवसायी इजलासमा पुगे पनि प्रधानन्यायाधीश जबराले पाँचवटा निवेदनमा आदेश दिइसकेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.