कपिलवस्तु । आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरणमा परेका बालक मुक्त भएका छन् ।
अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नु पर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ गुलरीकका पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका थिए ।
प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका थिए ।
मुसलमानले घरमा कोही नभएको अवस्थामा बालकलाई पसलमा पान लिन पठाउने क्रममा अपहरण भएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधबार राति पौने तीन बजे बालकको उद्धार गरी परिवारलाई बुझाइएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।
अपहरणमुक्त भएपछि घर फर्किएका पाँच वर्षीय बालक सलमान खान डफाली ।