काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनु पर्ने बताएका छन् । आफूले तत्काल समस्या समाधान भएर जनताले न्याय पाउन सकुन् भन्ने शुभेच्छा राखेको उनको भनाई छ ।
रिपोटर्स क्लबको साक्षात्कारमा बुधबार भण्डारीले भोलिसम्म समाधान निस्किन सक्ने पनि आशा व्यक्त गरे ।
उनले भने, ‘न्यायाधीशहरुले बेञ्च बहिस्कार गरेको होइन । उहाँहरु छलफलमा हुनुहुन्छ । बेञ्च बहिस्कार गर्ने वा नगर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने कुरा उहाँहरुले सोच्ने हो । भोलिसम्म समाधान निस्कियोस । देशमा जब राजनीतिक अस्थिरता आउँछ त्यसको असर सम्पूर्ण अंगमा पर्ने उनको भनाइ छ । उनले दलहरुले राज्य सञ्चालनमा सुशासन कायम गरिदिएको भए यस्तो समस्या नआउने सुनाए । उनले प्रधानन्यायाधीश मुक्त हुने कुरा संविधानको धारा एक सय ३१ ले मात्रै गरेको पनि स्मरण गराए । प्रधान्यायाधीश हट्ने यो बाहेक अरु प्रावधान नभएको उनको भनाइ छ । यसलाई हामीले कतै पनि तलमाथि गर्नु हुँदैन । त्यसो गरिए यसको मार जनतामा पर्छ । अदालत भनेको गाँजरको मुरली होइन । सबैले संरक्षण गर्नुपर्छ । यो सबैको आस्थाको केन्द्र हो । अन्याय भएको बेला जनता जाने निकाय भनेको नै अदालत हो । हाम्रा केही संवैधानिक प्रावधानहरु छन्, तीनलाई पालना गर्नुपर्छ । न्याय दिनेहरु पनि कानूनबमोजिम चल्नुपर्छ ।’ उनले भने ।
कुनै पनि देशको प्रजातन्त्र कति राम्रोसँग सञ्चालित छ, भन्ने कुरा त्यो देशको अदालतको स्वतन्त्रता र निष्पक्षतामा मापन हुने उनको भनाई छ । उनले अदालत संस्था भएकोले संस्थालाई बचाउनु पर्ने बताए ।
भण्डारीले प्रधानन्यायाधीश जबरामाथि लगाएको चार्ज ठिक हो, भने त्यो जबराले सोच्ने कुरा भएको र माग गरेको कुरा बेठिक हो, भने अरुहरुले सोच्ने कुरा भएको बताए ।
उनले भने, ‘उहाँले राजीनामा दिनु हुन्छ वा हुँदैन भनेर मैले भन्न मिल्दैन । महाभियोगको प्रश्न त संसदको कुरा हो । सांसदहरुले प्रस्ताव ल्याउनु भयो भने हुने कुरा हो । प्रस्ताव गएन भने महाभियोग भनेर मात्रै केही हुँदैन । जे गर्दा पनि विधि र प्रक्रियाअनुसार जानुपर्छ ।’