बागमतीमा मुख्यमन्त्रीको सपथ तीन बजेपछि

मकवानपुर । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।

अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएकी थिइन् । शाक्यकाे राजीनामापछि गठबन्धनका पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेको हुन् । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जनाको हस्ताक्षर हिजै साँझ बुझाइ सकेको छ ।

प्रदेश प्रमुखको कार्यालयले पनि आज दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको छ ।

बागमती प्रदेशसभा एक सय नौ सांसद छन् । सरकार बनाउन ५५ जना आवश्यक पर्छ । पाण्डेलाई एकीकृत समाजवादीको १३, नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२ र जसपाको १ गरी ५९ जना सांसदको समर्थन छ ।

एमालेमा पार्टी विभाजनपछि अहिले जम्मा ४३ जना सांसद छन् । मुख्यमन्त्रीमा पाण्डे आज दिउँसो ३ बजेपछि नियुक्त हुने सम्भावना रहेको छ ।

को–को बन्लान् मन्त्री ?

मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ ।

सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, नेपाली काँग्रेसका कृष्ण भँडेल र नेकपा (एकीकृत समाजवादी) का कृष्ण खनाल छन् ।

चर्चामा आएकाे अनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल नै सरकारमा सहभागी हुने पनि स्रोतको भनाई छ ।

अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ  । एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोत बताउँछ ।

मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेकाले टुंगो भने अझै लाग्न बाँकी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले बताइन् ।

दिउँसो साढे ३ बजे सपथको तयारी

मुख्यमन्त्रीसहित मन्त्री नियुक्तसँगै आज दिउँसो साढे ३ बजे सपथको तयारी छ ।

प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न ३ बजेसम्मको समय दिइसकेकाले त्यसपछि नियुक्ति र सपथ ग्रहण गराइने तयारी छ ।

सपथको आवश्यक तयारीमा पुग्न नसकेकमा साढे ३ देखि अपराह्न ५ बजेभित्र बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री तथा मन्त्रीले सपथ लिने छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.