मुख्यमन्त्रीमा पाण्डेले शपथ ग्रहण गर्दै 

काठमाडौं । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

बुधबार नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएलगतै प्रदेश प्रमुखले बिहीबार तीन बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आग्रह गरेका थिए । 

पाण्डेले बुधबार नै गठबन्धनमा आबद्ध ५९ सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । 

पाण्डेले केही बेरमा हेटौंडा–१० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्दैछन् ।

गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेस उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारीमा छन् । स्रोतका अनुसार माओवादीले सामाजिक विकास मन्त्री, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा (एस)ले आन्तरिक मामिला तथा कानुन मन्‍त्रालय पाउने बताइएको छ ।

वाग्मती प्रदेशमा सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.