वर्षाले अन्नबालीमा पुर्याएको क्षति विवरण दिन आग्रह

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले हालैको बेमौसमी वर्षाले अन्नबालीमा पुर्याएको क्षति विवरण दिन आग्रह गरेको छ । १५ कात्तिकभित्र आ–आफ्नो समूह वा व्यक्तिगत रुपमा पुगेको क्षतिको विवरण सम्बन्धित वडा कार्यालयमा उपलव्ध गराउन आग्रह गरेको हो ।

गत ३१ असोजयता परेको वर्षाका कारण धान, कोदो, फापर, तरकारी, फलफुललगायत कृषि बालीमा क्षति पुगेपछि गाउँपालिकाले विवरण संकलन थालेको हो । कृषक समूहमार्फत क्षतिको विवरण उपलव्ध गराउन समूहको निर्णय र समूहको छापसहितको निवेदन दिनु पर्ने गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । निवेदनको साथमा व्यक्तिगत रुपमा पुगेको क्षतिको विवरण र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी पनि समावेश गर्न आग्रह गरेको छ ।

क्षतिको मात्राको आधारमा किसानलाई बीउ उपलव्ध गराउने गाउँपालिकाको तयारी छ । ‘हामीले कृषि प्राविधिकमार्फत पनि अन्न बालीमा पुगेको क्षतिको विवरण संकलन गरिरहेका छौँ । किसानलाई पनि निवेदन दिन भनेका छौँ,’ अध्यक्ष निरौलाले भने, ‘राहतका नाममा चामल दिएर हुन्न । बढी क्षति ब्यहोरेका किसानलाई बीउ खरिद गरेर उपलव्ध गराउने सल्लाह गर्दैछौँ । बीउ दिइयो भने पुनः अन्न उब्जाउ हुन्छ ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.