पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सम्झौता गरेर एमालेमा बसेकाहरुलाई बेहाल भएको टिप्पणी गरेका छन् ।
शुक्रबार पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
‘एमालेको त भविष्य खत्तम छ । एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल छ जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ ।’ उनले भने, ‘एमालेमा बस्नेहरुको हरिबिजोग हुनेवाला छ । त्यसको भविष्य नै छैन । टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले ? केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।’
सम्बोधनकाे क्रममा अध्यक्ष नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताए ।
‘सर्वोच्च अदालतका न्यायाधीशले पाँच पुषमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नु भयो, त्यसको प्रशंसा दुनियाँले गरेको छ । त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नु भयो । त्यसविरुद्ध पनि उहाँहरु उभिनुभयो ।’ नेपालले थपे, ‘विरोध केपी ओली र तिनका हनुमानबाहेक अरुले गर्दैन । तिकडम गरेर सबैको राजीनामा माग्ने गलत काम हो । समाजका सबैको हूर्मत लिने, केपी ओलीको कामै यही हो ।’