विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीका कारण न्यायालयमा समस्या देखिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावको विषयमा कुनै छलफल नभएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीकाे बोलीका कारण न्यायालयमा विवाद उत्पन्न भएको उनको भनाई थियो ।
९ कात्तिकमा ओलीले एमाले पालिका अधिवेशनको उद्घाटनमा पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।
संसद् विघठनको विरुद्धमा लाग्ने न्यायाधीशले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।
‘ओलीले जे पायो त्यही बोलिरहरनु भएको छ, त्यो उहाँको कुन्ठा बोलेको हो, अध्यक्ष नेपालले भने, ‘अग्रगमनकारीलाई खेदो खन्ने उहाँको पहिलेदेखिको बानी हो।’
ओलीका कारण प्रदेश सरकारहरू ढलेको उनले बताएका छन् ।
ओलीले आफू प्रधानमन्त्री नभए कुर्सी भाँचिदिन्छु भनेको बताउँदै त्यसको प्रभाव सबै प्रदेशमा परेको नेपालको भनाई थियो । भीम आचार्य नेतृत्वको सरकारलाई हटाएर चाडैँ राजेन्द्र राई नेतृत्वमा सरकार बन्ने उनको दाबी छ ।
कांग्रेससँग तपाइँहरूको आधा-आधा कार्यकाल मुख्यमन्त्री बनाउने सहमति भएको हो भन्ने सन्चाकर्मीको प्रश्नमा नेता नेपालले अहिले नै छलफल नभएको बताए ।
कांग्रेसलाई मुख्यमन्त्री आधा कार्यकाल नदिए गठबन्धन टुट्ने देखियो नि भन्ने अर्को प्रश्नमा उनले कमजोर धागोमा नबाँधिएकोले प्रतिगमन विरुद्धको अभियान लामो समयसम्म जाने बताए ।