खोटाङ । राष्ट्रिय जनगणनाका लागि खोटाङमा २ सय ९० गणक छानिएका छन् । आगामी २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने मुख्य जनगणनाका लागि आवश्यक गणक छानिएका हुन् ।
जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा खटिने गणकको छनौटदेखि नियुक्तिको प्रक्रिया पूरा गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोइराला (जेबी)ले बताए ।
गणकका लागि १३ कात्तिकदेखि १६ कात्तिकसम्म तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ । स्थानीय जनगणनाको कार्यालय कुभिन्डेअन्तर्गत खार्पा, स्थानीय जनगणनाको कार्यालय हलेसीअन्तर्गत दुर्छिम, स्थानीय जनगणनाको कार्यालय दिक्तेल र स्थानीय जनगणनाको कार्यालय खोटाङ बजारमा गणकका लागि तालिमको आयोजना गरिएको हो ।
खोटाङमा राष्ट्रिय जनगणनाअन्तर्गत करिब ४२ हजार घर तथा घरपरिवार सूचीकरण भएको छ । गत ३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घरपरिवार सूचीकरणअन्तर्गत करिब ४२ हजार घरपरिवारको सूचीकरण भएको हो । जनगणनाका क्रममा सूचीकरणमा परेका तथा सूचीकरणमा छुट भएका घर परिवारको मूख्य गणना हुने जनगणना अधिकारी कोइरालाले बताए ।
२०६८ सालको जनगणनाअनुसार खोटाङको जनसंख्या २ लाख ६ हजार ३ सय १२ थियो भने विदेशमा बस्ने १७ हजार ६ सय ६२ जना थिए ।