मेरो पहिलो प्राथमिकता प्रदेशको नामकरण हुनेछ : राजेन्द्र राई (अन्तर्वार्ता)

प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यकले कातिक ७ मा लिने भनिएको विश्वासको मत लिने कार्य कतिक १५ का लागि सरेको छ । विश्वासको मत दिने क्रममा कांग्रेस सांसदले फ्लोर क्रस गर्ने आशंका बढेपछि कांग्रेसले व्यवस्थापिका बैठक सार्न अनुरोध गरेसँगै विश्वासको मत लिने समय सरेको थियो ।

विपक्षी गठबन्धनमा आबद्ध नेपाली कांग्रेसले सरकारको नेतृत्व आलोपालो गरिनु पर्ने माग गरेपछि भीम आचार्यको कार्यकाल लम्बिन सक्ने आँकलन पनि गरिएको छ ।

तर, भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई गठबन्धनको तर्फबाट आफू मुख्यमन्त्री हुने कुरामा ढुक्क छन् । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर प्रदेश-१ का भावी मुख्यमन्त्री राजेन्द्र राईसँग गरिएको कुराकानी  :

गठबन्धनमा आबद्ध कांग्रेसले आलोपालो सरकारको नेतृत्व लिने कुरा गरेको छ, अब के हुन्छ ?

आलोपालो गर्ने कि एक्लैले पूरै कार्यकाल मुख्यमन्त्री चलाउने भन्ने निर्णय प्रदेश १ का नेताहरू बसेर टुंगो लगाउने कुरा होइन । यसको निर्णय केन्द्रका नेताले गर्नुपर्ने हुन्छ ।

प्रदेश-१ मा समाजवादी र कांग्रेसले नेतृत्व आलोपालो गर्दा अन्य प्रदेशमा पनि असर पर्न जान्छ । यसैले प्रदेश १ मा आलोपालोको सम्भव छैन । यस सन्दर्भमा फेरि केन्द्रले छलफल गरेर टुंगो लगाउला ।

यसैले अहिले कांग्रेसले भने जस्तो सरकारको नेतृत्व आलोपालो गर्न सकिन्छ, भन्ने अवस्था रहेन । उहाँहरूले यस विषयमा आन्तरिक कुरा उठाउनु भएको छ । यो कुराले गठबन्धनमा कुनै असर पर्दैन । उहाँहरूले गठबन्धनको बैठकमा पनि यो विषय राख्नु भएको हो । तर, यहाँ मात्रै कुरा गरेर यो विषय टुंगोमा पुग्दैन भन्नेमा नेताहरू पनि कन्भिन्स हुनु भएको छ ।

यसको अर्थ भावी मुख्यमन्त्री तपाईं नै हो, भन्नेमा निश्चित नभइसकाे हाे ? 

कातिक १५ मा मतदान हुन्छ । १६ गते प्रदेश प्रमुखसमक्ष माग गर्ने हो । सोही दिन छिटोछरितो हिसाबले काम भए मुख्यमन्त्री चयन हुन्छ । प्रदेश प्रमुखले दुई-तीन दिन होल्ड गरेपनि धेरै दिन यो सरकारलाई टिकाउन सक्नु हुन्न । संविधानले दिएको अधिकार प्रयोग गरेर मिति गुजार्न सक्नु हुन्छ । त्योभन्दा बढी उहाँले केही गर्न सक्नु हुन्न । सभामुखले भने केही बहानाबाजी गरेर सार्न सक्नुहुन्छ ।

सभामुखप्रति तपाईं किन यति धेरै आक्रामक हुनु भएको ?

संविधानले विश्वासको मत गुमाएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ । तर सभामुखले कसैको पार्टीको काम पर्‍यो भनेर, आन्तरिक बैठक पर्‍यो भनेर विश्वसको मत लिने मिति सारेर संविधान मिच्न हुँदैन थियो नि ! पार्टीको आन्तरिक कार्यक्रम त कति हुन्छ, हुन्छ ?

साधारण विधेयक थियो, भने सोच्न सक्ने अवस्था हुन्थ्यो । संविधान नै मिच्ने गरी काम गर्नु हुँदैन थियो । तर, उहाँले गरिरहनु भएको छ । अझै पनि उहाँमाथि शंका गर्ने ठाउँ छ । पटक-पटक संविधान मिचेकाले फेरि पनि केही गर्नु हुन्छ कि भन्ने शंका गरेको हो । 

अझै गठबन्धनभित्र प्रदेश-१ को मुख्यमन्त्री को बन्ने भन्ने फाइनल नभएको हो ?

माथि पनि भएको हो, तल पनि भएकै हो । कांग्रेसका साथीहरूको भनाई आलोपालोको सबैतिर छलफल हुने, कांग्रेसले दाबी गर्ने, तर प्रदेश १ मा किन नगर्ने ? भन्ने छ ।  प्रदेश १ मा अर्को पक्षको दलको नेता भएका कारण पूर्वाग्रह राखेर यहाँ छलफल नै नगर्ने ? भन्ने उहाँहरूको भनाई हो ।

उहाँहरूले बैठकमा माग दाबीको रूपमा भन्दा पनि गुनासोको रूपमा राख्नु भएको छ । यस विषयमा हामी मात्रै बसेर हुँदैन भन्नेमा उहाँहरू स्पष्ट हुनुहुन्छ । यो कुरा माथि नै टुंगो लगाउनु पर्छ । आलोपालोको कुरा गर्ने भने पनि केन्द्रमै सहमति हुनुपर्छ । 

मुख्यमन्त्री बनेपछि यो काम गर्छु, भन्ने योजना बनाउनु भएको छ ?

प्रमुख योजना प्रदेशको नामकरण हो । सबैले चाहेको विषय पनि यही हो । यो मेरो पहिलो योजना हो । दोस्रो, सीमित बजेटको सही परिचालन भएन । चुहावट बढी हुने र पक्षपातपूर्ण ढंगले बजेट विनियोजन हुने र प्राथमिकता सही ढंगले छनौट नहुने कमजोरी रोक्ने भन्ने छ । शान्ति सुरक्षा कायम गरिनेछ ।

प्रदेश १ को आन्तरिक बजेटको दायरा बढाउन लाग्नेछु । कतिपय वैदेशिक सम्पर्कद्वारा अनुदान ल्याउने, केन्द्रबाट अनुदान र ऋण सापटी लिएर भएपनि बजेटको दायरा बढाउने प्रयास रहने छ ।

यी सबै काम गर्न कतिको सहजता देख्नु भएको छ ?

चुनौति त स्वाभाविक रूपमा छ नि । किनभने विपक्षीमा रहने साथीहरू सकारात्मक छैनन् । केन्द्रमा सभामुखको राजीनामा माग्ने, बिना कारण संसद् अवरुद्ध गर्ने भूमिका रहेकाले तल पनि यही अनुसारको निर्देशन आउँदा समस्या हुन सक्छ । प्रदेशको नाम दुई तिहाइले मात्रै पास गर्ने भन्ने छ ।

एमालेको सहमतिबिना दुई तिहाइ पुग्दैन । त्यो एउटा पाटो छ । अर्को सानो बजेट छ । योजना धेरै छानिएको छ । प्राथमिकता नदिनु पर्ने ठाउँमा योजना छानिएको छ । यस्ता विषयको बानी पारिएको छ । चुहावटका लागि बानी पारियो, पल्काइयो । यो कुराको पनि सामना गर्नु पर्नेछ ।

तपाईहरू एमाले सरकारविरुद्ध गठबन्धन बनाएर नयाँ सरकार बनाउन खोज्दै हुनुहुन्छ, भोलि एमाले पनि गठबन्धन बनाएर अगाडि बढ्न सक्ला नि ? 

पाँचदलीय गठबन्धन भत्किँदैन । यो सत्ता साझेदारी होइन । विषय र राष्ट्रिय परिस्थितिले निर्माण गरेको गठबन्धन भएकाले सजिलै भत्किँदैन । धेरै दलबीच गठबन्धन भएकाले हरेक राजनीतिक दलका आ-आफ्ना प्राथमिकता छन् । फरक फरक मान्यता छन् । भोलि योजना निर्माण र बजेट बाँडफाँटमा पनि समस्या होला । सन्तुलन मिलाएर, सबैलाई चित्त बुझाएर चलाउनु पर्ने हुँदा अलिकति गाह्रो हुन्छ । एउटै दलको हुँदा एउटा निर्देशनबाट सांसद चल्छन् । मुख्यमन्त्री संयन्त्रबाट सञ्चालन गर्नु पर्ने हुनाले चुनौति र समस्या छन् । 

केन्द्रमा मन्त्रालय भागबन्डा अझै सकिएको छैन, मन्त्रालय भागबन्डालाई तपाईंले कसरी सोच्नु भएको छ ?

माथि (केन्द्र)को कुरा अर्कै हो । त्यहाँ दुईवटा कुराले ढिलाई भएको हो । सांसदको पद खारेजीको मुद्दाले केही समस्या भयो । अध्यादेशको विषयले पनि ढिलाई भएको हो । तल त्यो खाले समस्या यहाँ छैन ।

अब गठबन्धन भएकाले धेरै पार्टीको सहभागिता छ । धेरै पार्टीको सहभागिता हुनेवित्तिकै मन्त्री बन्ने आकांक्षी धेरै हुन्छन् । त्यस्तो अवस्थामा छलफल गरेर कसरी चित्त बुझाउने भन्ने बाटोमा जाँदा केही समय लाग्छ । तर पनि माथिको जस्तो धेरै समय लाग्दैन ।

तर मन्त्री दिन्छु भन्दा पार्टी छाडेको देखियो नि !

त्यस्तो त हुने सम्भावना कमै छ । हिजो एमालेमा हुँदा पार्टी नै विभाजन गर्नुपर्ने भएकाले सरसल्लाह गर्नु परेको थियो । अब स्थिरता हुन्छ । सबै सांसदहरू एउटा-एउटा पार्टीमा सेटल भएकाले एउटालाई क्रस गरेर अर्कोमा जाने सम्भावना म देख्दिनँ । हिजो सनाखतको बेलादेखि नै सांसदहरूलाई पैसा र पदको कुरा गरियो ।

यो सरकारले अहिले पनि पटक-पटक विश्वासको मत लिने समय गुजार्दै सबै दलका सांसदलाई प्रलोभन बाँडिरहेको छ । फकाउने, पैसा, पद र भविष्यको लोभलालच दिइरहेको छ । तर अब पार लाग्दैन । 

विभिन्न अप्ठेरोका बाबजुद पनि अब बन्ने सरकार पूर्ण समय चल्छ । मेरै कार्यकालमा निर्वाचन हुन्छ । अहिलेको औसत, देशै भरिको प्रदेश सरकारको संख्या हेर्दा र गठबन्धनको उपस्थिति हेर्दा ११ देखि १३ जनासम्मको मन्त्रिपरिषद् बन्ने सम्भावना छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.