लमजुङ । लमजुङमा बालविवाह बढेसँगै बालापनमै आमा हुनेहरूको संख्या पनि बढेको छ । ‘विहाबारी, २० वर्ष पारी’ भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमा समेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको सङ्ख्या बढेको पाइएको छ । कानूनमा २० वर्ष अघि विवाह गर्न पाइँदैन । तर, जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १३ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ ।
२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला अस्पतालको अनुमान छ ।
जिल्लामा बालविवाह गर्नेको प्रष्ट तथ्यांक भने छैन । अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १३ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ बताउँछन् ।
सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने श्रेष्ठको भनाई छ । उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’
जिल्ला अस्पतालमा ०७७/७८ मा १ हजार १ सय ७१ जना महिला आमा बनेका छन् । जसमध्ये १ सय ५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ ।
आ.व ७६/७७ मा १ हजार १ सय २३ जना आमा बनेका छन् । जसमध्ये १ सय ७१ जना महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ ।
आ.व ०७५/७६ मा १ हजार ११ जना आमा बनेका छन् । जसमध्ये २० वर्षमुनिका १ सय ८३ जना छन् ।
स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतिको विषय बनेको छ ।
सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदा-पाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकी लगायतका कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।