विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीका पछाडि बयलगाडावाला मान्छे मात्रै लाग्ने बताएका छन् ।
नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले क्रान्तिकारी सोच भएका र अग्रगामीहरू ओलीका पछाडि नलाग्ने दाबी गरेका छन् । ओलीले नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका पुग्नु जस्तै हो, भनेको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा केपी ओलीका विरुद्ध मात्रै बोलेका नेता नेपालले एमालेभित्र ९ हेक्टरकाे भुइँचालो आएपछि कम्युनिस्ट आन्दोलन बचाउनका लागि अलग बाटो रोजेको बताए । आउने चुनावमा एमाले भन्ने पार्टीलाई टर्च बालेर खोज्नु पर्ने उनको भनाई थियो ।
सत्ताको घोडामा चढेको बादशाहलाई सडकमा पछारेको भन्दै उनले अब एक नम्बर प्रदेशको सरकारलाई पनि यही हप्ताभित्र सडकमा पछार्ने बताए । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपालगायतका गठबन्धन दलसँग छलफल सकिएकोले राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने उनको भनाई छ ।
उनले राजेन्द्र राईलाई जनताको सरकार भनेर चिनाउने गरी काम गर्न निर्देशन दिए । 'गरिबको सरकार यो रहेछ, भन्ने गरी काम गर्नुहोस्।' उनले भने । धनीका समस्या होइन गरिबका समस्या बुझ्ने खालको भएर काम गर्न उनले राईलाई निर्देशन दिएका थिए । पाटीमा बढेको जनलहर देखेर एमाले कार्यकर्तालाई १ सय ४ डिग्री ज्वरो आएको समेत उनको भनाई थियो ।