गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनाव फेस गर्छ : राई

खोटाङ । नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताएका छन् ।

शनिबार प्रेस संगठन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठबन्धनले आगामी स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव समयमा सम्पन्न गराउने र सो चुनावमा मोर्चा बनाएर चुनाव लड्ने बताएका हुन् ।

पूर्व सांसद समेत रहेका राईले गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनाव नलडे ‘प्रतिगामी शक्तिले फेरि टाउको उठाउन सक्ने’ सम्भावना औंल्याएका छन् । ‘यो गठबन्धनले आगामी निर्वाचन समयमा गराउँछ । त्यो निर्वाचनमा यो गठबन्धनले मोर्चा बनाएर चुनावको फेस गर्छ ।’ राईले भने, ‘त्यो नगर्ने हो भने प्रतिगामी शक्तिले फेरि टाउको उठाउन सक्छ ।’ राज्यको खर्चको बचत, जनताको समयको बचतका लागि स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकैदिन गर्न पार्टीका तर्फबाट सुझाव दिइएको उनले बताए ।

अनुशासन आयोग प्रमुख राईले वर्तमान सरकार क्षणिक शक्ति र सत्ताको लागि नभएर ‘समयको आवश्यकता र परिस्थितिको उपज’ स्वरुप बनेको बताए । मुलुकको संविधान लागू गर्ने क्रममा बाधा व्यवधान भयो, मुलुक पश्चगमनतिर जान लाग्यो, त्यसलाई रोकेर संविधानलाई क्रियाशील बनाउने, कार्यान्वयन गर्ने, मुलुकले प्राप्त गरेको पछिल्लो उपलव्धिलाई रक्षा गर्ने उद्देश्यका साथ गठबन्धन बनेको उनको भनाई थियो ।

राईले खोटाङमा पनि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समावजादी र नेकपा (एकीकृत समाजवादी) एउटै मोर्चा बनाएर निर्वाचनमा जाने उल्लेख गरे । ‘पश्चगामी शक्तिविहीन खोटाङ बनाउने हाम्रो प्रतिबद्धता हो । मोर्चाले एउटै चुनाव चिन्हबाट चुनाव लड्नु पर्छ भन्ने प्रस्ताव छ । होइन एउटै चुनाव चिन्हबाट सम्भव हुँदैन भने पनि गठबन्धन निर्माण गरेर निर्वाचनमा जाने कुरा प्रष्ट छ ।’ राईले भने, ‘केही समयपछि गठबन्धनका जिम्मेवार नेताको बैठक बसेर आगामी निर्वाचनमा एक भएर निर्वाचनमा जाने प्रतिबद्धता सार्वजनिक गर्ने छौं । जिल्लाको विकास निर्माणमा साझा धारणा निर्माणको कोशिस गरिरहेका छौं । स्थानीय, प्रदेश र संघीय सरकारले के गर्नुपर्छ भन्ने विषयमा साझा धारणा तय गर्नेछौं । त्यही साझा धारणा आगामी निर्वाचनको स्थानीय घोषणा पत्र हुने छन् ।'

राईले आगामी सहकार्यको सुरुवात स्वरुप गठबन्धनका तर्फबाट बंशिलाघाटमा बेलिब्रिज राख्नका लागि भौतिक योजना मन्त्रालयमा संयुक्त निवेदन पेश गरिसकेको जानकारी दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.