काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी नेताहरुमाथि आक्रोश पोखेका छन् ।सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई मधेसी जनता लुट्ने दलाल भएको आरोप लगाए ।
मधेश विरोधी केपी ओलीलाई साथ दिनेहरु मधेशी हुनै नसक्ने र मधेशी अनुहार देखाएर महन्थ र राजेन्द्रहरुले मधेशी जनता लुट्ने र ठग्ने काम गरेको उनको आरोप छ ।
‘म त्यस्तो प्रधानमन्त्री हो, जसले दुई पटक संविधान संशोधन प्रस्ताव राखेर मधेशी जनताको हकहितका लागि लडेको हो । तर, केपी ओलीले पास हुन दिएनन् । तर आज बिडम्वना गणतन्त्र, संघीयताविरोधी समानुपातिक समावेशीविरोधी केपी ओलीलाई आफूलाई मधेशको मसिहा ठान्ने महन्थ ठाकुर र राजेन्द्र महतोहरुले साथ दिएर त्यसको सरकारमा सहभागी भएका हुन् कि होइनन् अनि तपाई हामीले यो कुरा बिर्सिन मिल्छ ’ प्रचण्डले प्रश्न गरे ।
प्रचण्डले को मधेसको मित्र हो, को दुश्मन हो बुझाई दिन शिक्षक तथा बौद्धिक वर्गलाई अनुरोध पनि गरे । ‘केपी ओली जो मधेश, गणतन्त्र, समावेशीविरोधी हो । उसलाई साथ दिने र माओवादीलाई एक्ल्याउनु पर्छ भन्ने महन्थ ठाकुहरुहरु मधेशका हुन् ’ उनले आक्रोश पोखे, ‘रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाऊ भनेर माओवादीले प्रस्ताव राख्दा विरोध गर्नेहरु मधेशका मित्र हुन् ’
अध्यक्ष प्रचण्डले थपे, ‘अनि मधेशी जनतालाई स्पष्ट पार्नका लागि जस्तोसुकै खतरा मोलेर भए पनि मधेशमै चुनाव लड्छु, मधेशी जनताको माया र विश्वास पाए भने म फेरि प्रधानमन्त्री हुन्छु र मधेसको निम्ति संविधान संशोधन गर्छु भन्ने तपाईको मित्र हो कि मधेशी अनुहार देखाएर मधेशी जनतालाई लुट्ने र ठग्ने डाँका र दलालहरु तपाईका मित्र हुन्, यो फैसला तपाईहरुले यो पटकको चुनावमा गर्नुपर्नेछ । असली मित्र र बैरीहरु को हो छान्नु पर्नेछ ।’
परिवर्तनविरोधी, सामन्ती, दलाल, निरंकुश, अहंकारी ओलीले धोका, विश्वासघात, बेइमानी र षडयन्त्र गरेर आफूलाई बादशाह जस्तो ठानेपछि घोडाबाट पछारेर बालुवाटारबाट बालकोट पठाइ दिएको उनको भनाई थियो । ‘माओवादी आगो हो खेल्ने कोशिस नगर भनेको थिए ।’ उनले भने, ‘अहिले बालकोट मात्र होइन बागमती गयो । लुम्बिनी, गण्डकी गयो । अब प्रदेश १ पनि जाँदैछ । माओवादीलाई जिस्क्याउन खोज्दा के हुँदो रहेछ हेर्नुस् त ।’
अध्यक्ष प्रचण्डले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई ओलीले पदमुक्त गरेकोमा पनि आक्रोश पोखे । ’मधेशको दलितलाई प्रदेश प्रमुख बनाएको थिए ओलीले देखिसहेन । हटायो । मैले फेरि बनाए ।’ उनले भने, ‘को व्यवहारमा मधेशी जनताको हक अधिकारका लागि लड्छ, को गफ दिन्छ तपाईले फैसला गर्नु पर्छ ।’