गठबन्धनमा किचलो सुरु, दुई मुख्यमन्त्री पाउनु पर्ने नेकपा एसको दावी

काठमाडौं । गठबन्धन दलको तर्फबाट सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी निर्वाचनसम्म गठबन्धनको चूनावी तालमेल हुने दाबी गरिरहँदा नेकपा (एकीकृत समाजवादी) को भन्ने फरक धारणा आइरहेको छ ।

नेकपा एसले गठबन्धन दलको सरकार बनाउन र संचालनमा बाराबर हिस्सा हुनपर्ने माग गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले दुई–दुई मुख्यमन्त्री र जसपाले एक मुख्यमन्त्री पाउनु पर्ने नेकपा एसले दाबी गरेको छ ।

नेकपा एसले आफ्नो दाबी प्रस्तुत गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रुष्ट बनेका छन् । नेकपा एसले बागमती प्रदेशमा राजेन्द्र पाण्डलेलाई मुख्यमन्त्री बनाएकाे छ । यस्तै बागमतीपछि सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री नेकपा एसले पाउनु पर्ने माग नेकपा एसको छ ।

नेकपा एसका प्रदेश अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा धनगढीमा बसेको बैठकले सुदूरपश्चिममा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेकपा एसले गर्ने गरी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिएका छन्।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् । माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।

माओवादीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशको नेतृत्व गरिरहेको र एक तत्काल नेकपा एसको लागि छोड्नु पर्ने नेकपा एसका नेताहरुको भनाई छ । यता नेकपा एसले गठबन्धन दलमा बराबरको हिस्सासहित आफ्ना मागहरु राखिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा नगर्न निर्देशन दिएका छन् ।

नेकपा एसले भने ती सरकारमध्ये एउटा प्रदेश छोड्नु पर्ने अडान राखेका छन् । कणाली छोड्न नसक्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा एसलाई प्रष्ट पारेका छन् । त्यस लगतै नेकपा एसले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व छोड्नु पर्ने माग गरेका छन् ।

प्रचण्ड र माधवकुमार नेपालले भने आगामी निर्वाचनसम्म गठबन्धन दलको सहमति हुने दाबी गरेपनि कांग्रेसले औपचारिक निर्णय भने गरेको छैन ।

कांग्रेस आगामी निर्वाचनमा एक्लै जान चाहन्छ, तथापि प्रधानमन्त्री देउवा र कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका गृहमन्त्री बालकृष्ण खाँणले भने आगामी चुनावसम्मै गठबन्धनको तालमेल रहने दाबी गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.