लुम्बिनी विकासको नयाँ गुरुयोजना रोकिएकोमा राष्ट्रपतिको चासो

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि रोकिएको भन्दै चासो व्यक्त गरेकी छन् । लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आइतबार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको र नेपालको गौरवसमेत रहेको बताएकी छन् । ुम एउटै कुरा भन्छु, गौतमबुद्धको जन्म नेपालमै भएको हो’ उनले भनिन्, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञानआर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ, त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’

विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोच र दर्शनलाई अपनाएको भण्डारीको भनाइ छ । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन,’ भण्डारीले भनिन् ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकासहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए ।

महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिक रूपमा बनिरहेको, तर अपूरो विहार देखेपछि काठमाडौँ महानगरले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियोु, उनले भने, “त्यहीअनुसार सहयोग गरेका हौँ ।

अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको देखेको शाक्यले बताए । नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र काठमाडौँ महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालको मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस् भन्ने अपेक्षा रहेको उनको भनाइ छ ।

परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डा। नरेशमान बज्राचार्यले नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए । काठमाडौँ महानगरपालिकाको करिब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.