सुदूरपश्चिम सरकारको नेतृत्वमा एकीकृत समाजवादीको दाबी

धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने भएको छ । त्यसका लागि समन्वय गर्न पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने लिखित निर्णयसमेत भएको छ ।

एकीकृत समाजवादी पार्टी प्रदेश सभा संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री दीर्घ सोडारीका अनुसार प्रदेश सभामा ठूलो दल भएपछि सरकारको नेतृत्व पाउनु पर्ने माग आएपछि केन्द्रलाई पत्र पठाउने निर्णय गरिएको हो ।

‘एकीकृत समाजवादी पार्टी संसदीय दलको शुक्रबार बसेको बैठकले आफ्नो पार्टीको नेतृत्वमा प्रदेश सरकार बनाउनु पर्ने माग राख्दै केन्द्रलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।’ संसदीय दलका नेता सोडारीले भने, ‘केन्द्रको रायअनुसार आगामी रणनीति तय हुने छ ।’ उनले बैठकका थप निर्णय भने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।

प्रदेश सभामा नेकपा एस ठूलो दल भएका कारण सरकारको नेतृत्वका लागि दाबी गर्नु स्वाभाविक भएको उनले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सुदूरपश्चिममा त्यसको केही संकेत देखाएका थिए ।

गत बिहीबार कञ्चनपुर पार्टी कार्यालय उद्घाटन गर्न सुदूरपश्चिममा अध्यक्ष नेपालले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकार परिवर्तन भए ठूलो दलका हैसियतले त्यसको नेतृत्व नेकपा एसले गर्ने बताएका थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.