सभापतिमा उम्मेदवारी दिने सुजाता कोइरालाको घोषणा

विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन ।

गिरिजाप्रसाद कोइरालाले पनि विराटनगरमा आएर महत्त्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाटै उम्मेदवार घोषणा गर्ने बताएकी हुन् ।

कोइराला परिवारबाट सभापतिका तीनजना उम्मेदवार देखियो नि, भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सबैको इच्छा भएको उत्तार दिइन् । ‘उहाँहरू मात्रै होइन अरूले पनि इच्छा देखाउनु भएको छ । म महिला भएकाले सबैले सहयोग गर्नु हुन्छ भन्ने विश्वास लिएकी छु ।’ उनले भनिन्, ‘कोइराला परिवारमा पनि थप छलफल गर्छौ ।’

केही समय अघि विराटनगरमा आएका डा.शेखर कोइरालाले पनि सभापतिमा उठ्ने बताएका थिए । महामन्त्रीसमेत रहेका शशांक कोइरालाले पनि सभापति उठ्ने बताइरहेका छन् ।

न्यायालयमा देखिएको समस्यामा भने सरकारले चासो देखाउनु पर्ने उनको तर्क छ । कांग्रेसले पनि अर्ली इलेक्सन चाहेकाले देश चाँडै निर्वाचनमा जाने उनको भनाई थियो । कोइरालाले अहिलेको गठबन्धन चुनावसम्म नहुने घोषणा गरिन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.