तिहारमा काठमाडौँ बसौँ गाउँको रमाइलोले तानिरहन्छ, गाउँ जाऊ आर्थिक समस्याले बिझाँई रहन्छ ।
काठमाडौं । तिहार सुरु भएसँगै काठमाडौँको स्वरुप फेरिएको छ । काठमाडौँका चोक, गल्ली, घर, अफिस सबैतिर झिलिमिली बत्तीले काठमाडौँको स्वरुप फेरेको छ । बत्तीसँगै कृतिम होस् या प्राकृतिक फूलहरुको सजावटले काठमाडौं सुन्दर देखिएको छ ।
तिहार सांस्कृतिक उत्सव पनि हो । देउसुरे, भैलुरेको गायनले पनि तिहारलाई विशेष बनाउँछ । बजारमा चहलपहल बढेको छ । मानिसहरु सामग्री खरिद गर्न बजार निस्किएका छन् । बजारमा मानिसहरु निस्कनुले अर्थतन्त्रलाई केही चलायमान गराएको पनि छ ।
काठमाडौँ तिहारमा जति सुन्दर र गतिशील भएको छ, त्यति नै कुरुप र स्थिर पनि छ । काठमाडौँले मानवतालाई भन्दा मुद्रालाई महत्व दिन्छ । यसकाे अर्थ काठमाडौँमा मानवता हराइसकेकाे भन्ने चाहिँ हाेइन ।
मुद्राबिना काठमाडौँमा कोही गतिशील हुन सक्दैनन् । काठमाडौँमा स्थिर रहनु पर्ने पीडा काठमाडौँका मूलवासीलाई भन्दा मोफसलबाट आएर बस्नेलाई ज्यादा छ । यसमा पनि दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने तथा विद्यार्थी जीवनका मानिसलाई बढी छ । यस्तो कठिनाई सामान्य अवस्थामा भन्दा चाडपर्वका समयमा बढेर जान्छ ।
विशेष गरी दाजु–बहिनीको चाडको रुपमा लिइने तिहारमा थुप्रै नेपालीहरु आफ्ना दिदी–बहिनी, दाजु–भाइबाट टाढा बस्नु परेको छ । अहिले अध्ययन र रोजगारीका लागि विदेश जाने क्रम बढेकाले पनि यस्तो भएको हो ।
नेपालभित्र पनि आर्थिक समस्याले गाउँ नगई काठमाडौंमा तिहार मनाउनेहरु धेरै भेटिन्छन् ।
सोलुखुम्बु, दुधकौशिका गाउँपालिकाका विवश आचार्य यस पटकको तिहारमा गाउँ जाने सोचमा छैनन् । उनी यो वर्षको तिहार काठमाडौंको रमाइलो हेर्दै मनाउने तयारीमा छन् । उनलाई गाउँ जान मन नएको भने होइन । घरसम्म पुग्न लाग्ने खर्चकै कारण उनी काठमाडौँ बसेर तिहार मनाउने तयारीमा छन् ।
विवश उच्च शिक्षा अध्ययनका लागि काठमाडौं बसिरहेका छन् । विवशकी बहिनी पनि काठमाडौँमा नै अध्ययन गर्छिन् । त्यसैले पनि तिहार मनाउन सजिलो भएको विवशको भनाई छ ।
विद्यार्थी जीवन, थोरै कमाई अनि काठमाडौंको बसाईलाई धान्न मुस्किल पर्ने उनको भनाई छ । बहिनीको चाहनालाई पनि पूरा गर्नुपर्ने अवस्था छ । आफ्नो कमाइले डेरा भाडा, रासनको जोहो गर्न मात्र पुग्ने विवश बताउँछन् ।
दाजु–बहिनीको पढाई खर्चका लागि घरमा गुहार्नु पर्ने स्थिति छ । यो अवस्थामा तिहार मनाउनका लागि घर जाने खर्चले उनी काठमाडौंमा ३ महिना खर्च पुग्ने बताउँछन् ।
घर गएर फर्कनका लागि बसभाडा खर्च १८ हजार लाग्छ । यात्रामा खाजा खानाको खर्च पनि जोडिन्छ । ‘धेरै समयपछि घर जाँदा केही कोसेली बोक्नु प¥यो, खाली हात के जानु ।’ थोरैमा पनि ४० हजारको जोहो गरेर घर जानुपर्ने भएकोले जसोतसो काठमाडौंमै तिहार मनाउने मनशाय बनाएको विवश बताउँछन् ।
तिहार मनाउन घर जाँदै गर्दा लाग्ने आर्थिक भार सम्झेर हैरान छिन् कञ्चनपुरकी उर्वसी थारु । ३ भाइको निधार खाली हुने भएपछि उनी टिका लगाउनका लागि घर जाने तयारीमा छिन् । लक्ष्मी पूजाको दिन घर पुग्ने योजनाका साथ उनले गोङ्गवु स्थित नयाँ बसपार्कको टिकट काउन्टरबाट २ हजार ३ सय ५० रुपैयाँ तिरेर टिकट लिएकी छिन् ।
सरकारले २८ प्रतिशत भाडादर बढाएपछि १८ सयको टिकटलाई २ हजार ३ सय ५० रुपैयाँ तिर्नु परेको भन्दै उनी गुनासो पोख्छिन् । ‘घर जान र आउन मात्रै ४ हजार ७ सय रुपैयाँ लाग्छ । १८ घण्टाको यात्रामा खाजा खाना खानै प¥यो ।’ तिहारको सर–सामान सहित घर पुग्दा खर्चको भार धेरै पर्ने उनी बताउँछिन् । ‘भाइहरु साना–साना छन्, वर्षमा एकचोटी आउने तिहारमा पनि दिदी टिका लगाउन आइनन् भनेर मन दुखाउँछ ।’
अध्ययनको सिलसिलामा काठमाडौँ आएकी उर्वशीकाे जीवनमा अनेक भोगाई छन् । ९ वर्षको काठमाडौँ बसाईमा सीमित आय, बढ्दो पढाई खर्च र काठमाडौंको महंगीलाई उनको कमाइले धान्न मुस्किल भएको उनी बताउँछिन् । अहिले काठमाडौँ झन महंगो भएको छ । जसले दैनिक जीवनलाई थप मुस्किल बनाएकाे छ ।
सोलुखुम्बु दुधकौशीकाका विवस, कञ्चनपुरकी उर्वशी थारु मात्र होइनन् हुम्लाका दिनेश शाही, कैलालीकी सम्झना रोकायको पनि यस्तै समस्या छन् । समस्याले गर्दा उनीहरु सधैँ चाडपर्व आएपछि दोधारमा पर्छन् । काठमाडौँ बसौँ गाउँको रमाइलोले तानिरहन्छ, गाउँ जाऊ आर्थिक समस्याले बिझाँई रहन्छ ।