काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड र आफूले एमसिसी पास गराउने भनेर लिखित पत्र दिइसकेको बताएका छन् ।
बिहीबार स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागि भएर नेपाल फर्केका देउवाले यस्तो बताएका हुन् ।
उनले एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमसिसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुबीच मंगलबार भेटवार्ता भएको थियो ।
भेटवार्ताको क्रममा उनले एमसिसीकी ल्याटोर्तुसँग सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिबद्धता गरिसकेको पनि बताए । ‘प्रचण्डजी र मैले एमसिसी पास गराउने भनेर पत्र पठाइसकेका छौँ,’ उनले भने ।
एमसीसी संसदबाट पास गर्ने वा नगर्ने भनेर नेपालका मुख्य दल मुख्यतया: दुई भागमा विभाजित छन् ।
बुधबार प्रधानमन्त्री देउवाबाट आएको भनाइलाई बाहिर राखेर हेर्ने हो भने नेकपा माओवादी एमसीसी पास हुनु हुँदैन भन्ने पक्षमा छ भने सत्तारुढ दल नेपाली कांग्रेस भने एमसीसी संसदबाट पास गराउँदा हुन्छ भन्ने पक्षमा छ ।