एमसीसी पास गर्न भनेर चिठी पठाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गलत : प्रचण्ड

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पास गर्ने सम्बन्धमा आफू र प्रचण्डले एमसीसीलाई चिठी लेखेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । 

आफ्नो सहमतिबिनै प्रधानमन्त्रीले एमसीसीलाई चिठी पठाएको भन्दै शुक्रबार प्रचण्डले प्रधानमन्त्री देउवाको बिहीबारको अभिव्यक्तिको खण्डन गरेका हुन् । 

देउसी खेल्न आफ्नो निवासमा आएका सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठासकेको छु भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन ।’

प्रधानमन्त्री देउवा स्वयंले त्यस्तो भनेको त होइन भनेको दाबी गर्दै प्रचण्डले अघि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ ? त्यसको निदान कसरी गर्न सकिन्छ ? भनेर उपाय निकाल्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन ।’

बिहीबार प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नका लागि आफू र प्रचण्डले संयुक्त रुपमा चिठी पठाएको बताएका थिए ।  तर, प्रचण्डले राष्ट्रिय सहमति नभई पारित गर्न नसक्ने भएकाले समय चाहिन्छ भनेर चिठ्ठी पठाएको दाबी गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.