झिलीमिली काठमाडौं–सुनसान धरहरा

काठमाडौं । लक्ष्मीपूजाका दिन राजधानी काठमाडौंको केन्द्रमा अवस्थित धरहरा सुनसान थियो । लक्ष्मीपूजाका दिन सबैतिर झिलीमिली बालेको, तर धरहरामा झिलीमिली बत्ती र यसअघि बाल्दै आएका बत्ती पनि नबाल्दा सुनसान भएको हो ।

२०७८ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा ओली प्रधानमन्त्रीको पदमा रहुञ्जेल तलदेखि माथिसम्म हरेक दिन साँझ परेपछि झिलीमिली बत्ती बल्ने गरेका थिए ।

तर, ओली प्रधानमन्त्रीको पदबाट हटेको केही दिनपछि बल्न छाडेका ती बत्ती बिहीबार अर्थात् लक्ष्मीपूजाका दिन पनि बलेनन् । औपचारिकताका लागि धरधराको बार्दलीमा थोरै झिलीमिली टाँगिएको थियो । जुन पर्याप्त थिएन । जसका कारण उपत्यकाको झिलीमिली र धरहरा हेर्नका लागि अग्ला–अग्ला स्थानमा पुगेकाहरु पनि धरहरा राम्रोसँग नदेखिएको भन्दै निराश हुँदै फर्किए ।

सँगै जोडिएको नेपाल टेलिकम धपक्कै बलेको थियो । नेपाल टेलिकमकै झिलीमिली बत्तीले बरु धरहरा देखिरहेको थियो । यस्तै धरहराको पारी रहेको नेपाल विद्युत प्राधिकरणमा पनि झिलीमिली बत्ती धपक्कै बलेको थियो । तर ऐतिहासिक भनिएको धरहारा सुनसान थियो । २०७२ को भूकम्पले ढलेको धरहरा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले निर्माण गरेपछिको यो पहिलो तिहार हो ।

तिहारको समयमा पनि पुनर्निमाण प्राधिकरण, महानगरपालिका र सरकारी निकायले बेवास्ता गरेपछि ऐतिहासिक भनिएको धरहरा सुनसान बन्न पुगेको हो । काठमाडौंको ईचगुँ, स्वयम्भु, चोभार डाँडाँ, फूल्चोकी, कपन गुम्बा पुगेका आम मानिसले धरहरा नियाल्न खोज्दा पनि धराहरा कतैबाट फेला पार्न नसकेको भन्दै निराश व्यक्त गरेका छन् ।

धरहरा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीले नै शिलान्यास गरेर २०७८ वैशाखमा पदबाट बाहिरिनुअघि उनले सो धरहरा उद्घाटन गरेका थिए । बाहिरबाट हेर्दा नौ तलाजस्तो देखिने धरहराको भित्र भने २२ तला छन् । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाले बनाएको यस धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.