पालिका अध्यक्षसहित १० जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी
त्यसैगरी, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीसहित सात जनाले नेकपा (एस)मा सनाखत गरेका थिए ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट निर्वाचित उदयपुरगढी गाउँपालिका अध्यक्षसहित १० जना जनप्रतिनिधिले सोमबार नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरमा सोमबार उपस्थित भई उनीहरूले नयाँ दलमा खनाखत गरेका हुन् ।

नेकपा (एस) पार्टीमा सनाखत गर्नेहरूमा उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर, उदयपुरगढी गाउँपालिका- ७ का वडा अध्यक्ष कर्णमाया मगर, उदयपुरगढी गाउँपालिका कार्यपालिका सदस्य थमान बिक, त्रियुगा नगरपालिका- २ का वडा सदस्य श्यामनन्द चौधरी रहेका छन् ।

त्यसैगरी कटारी नगरपालिका- ९ का वडा अध्यक्ष बेगबहादुर मगर (सुनिल), वडा सदस्यहरू प्रेमबहादुर थापा, दीपक थापा, गीताकुमारी सार्की, निर्मला खपाङ्गी मगर रहेका छन् । त्यसैगरी जिल्ला समन्वय समिति सदस्य हृदयविक्रम तामाङ, कटारी नगरपालिका- ५ का वडा सदस्य गोपाल सापकोटाले जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भई एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जनाइएको छ ।

त्यसैगरी, त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीसहित सात जनाले नेकपा (एस)मा सनाखत गरेका थिए । त्रियुगाका अझै दुई जना जनप्रतिनिधिले सनाखत गर्ने बताइएको छ । आइतबार छ जना र सोमबार थप एक जना गरी त्रियुगा नगरपालिकाका सात जनाले सनाखत गरिसकेका छन् भने मंगलबार दुई जना गरी नौ जनाले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने त्रियुगा नगरपालिकाका नगर प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य बलदेव चौधरीले जानकारी दिए । एकीकृत समाजवादीमा सनाखत गर्ने जिल्लामा १७ जना भइसकेको र मंगलबार चौदण्डीगढीका जनप्रतिनिधिहरूले सनाखतका लागि निर्वाचन आयोगमा सहभागी जनाउने जनाए । चौदण्डीगढी, रौतामाई र लिम्चुङबुङ गरी तीनवटा पालिकाहरूले सनाखत गर्न बाँकी रहेको पनि केन्द्रीय सदस्य चौधरीले बताए ।

आइतबार उदयपुरमा त्रियुगा नगरपालिकाका नगर प्रमुखसहित छ जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरमा उपस्थित भएर त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरी, त्रियुगा नगरपालिका- ३ का वडा अध्यक्ष अवधेशप्रसाद चौधरी, त्रियुगा नगरपालिका- १३ का वडा अध्यक्ष पशुपति चौधरीसहितले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका हुन् ।

त्यसैगरी, एकीकृत समाजवादी पार्टी रोज्नेमा वडा नं.- ६ का वडा सदस्य जयराम पंजियार, वडा नं.- ९ का वडा सदस्य खिलबहादुर कार्की, वडा नं.- ११ का वडा सदस्य शकुन्तला विश्वकर्माले नेकपा (एस)मा सनाखत गरेका छन् । त्रियुगा नगरपालिकाका एक दर्जनभन्दा बढी जनप्रतिनिधि नेकपा (एस)मा आउने तयारी भइरहेको नगर प्रमुख चौधरीले बताए । बाँकीले २२ गतेभित्र सनाखत गरिसक्ने उनको भनाइ छ । नेकपा एमालेबाट विजयी प्रदेश सांसद सुनिताकुमारी चौधरीले पनि नेकपा (एस)मा सनाखत गरेकी छन् ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार मंगलबारसम्म जनप्रतिनिधिले दल रोज्न पाउने समय भएकाले उदयपुरमा अझै केही जनप्रतिनिधिले एमाले पार्टी छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गर्न सक्ने बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.