सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्री बुढाक्षेत्रीले चालू आर्थिक वर्षमा विनियोजित बजेट सत प्रतिशत कार्यान्वयन गर्ने गरी सचिवलाई काम गर्न निर्देशन दिँदै कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सोमबार मन्त्री बुढाक्षेत्रीले कार्यसम्पादन सम्झौतापछि मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीलाई फाइल हस्तान्त्रण गरेका छन् ।
सम्झौताअनुसार मन्त्रालय मातहतका माहाशाखा प्रमुखहरूसँग पनि सचिव काप्रीले कार्यसम्पादन सम्झौता गरी समयमै योजनाका कामहरू सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गत आर्थिक वर्षमा सम्झौताअनुसार बजेट कार्यान्वयनमा कमी आएकाले चालू आर्थिक वर्षमा असार महिनाअघि नै सबै योजना सम्पन्न हुनेगरी काम गर्ने सम्झौता भएको मन्त्री बुढाक्षेत्रीको भनाइ छ ।
गत आर्थिक वर्षमा पनि मुख्यमन्त्रीले ८० प्रतिशत बजेट कार्यान्वयन गरिसक्ने गरी सम्झौता गरेका थिए ।
तर, प्रदेश सरकारले गत आवमा ६७ प्रतिशत मात्र रकम खर्च गर्न सफल भएको थियो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३६ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । सोहीअनुसार चालू आर्थिक वर्षमा असार महिना नलाग्दै सबै योजनाको काम सक्ने गरी मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रालय र मन्त्रालयले कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।