समन्वय समितिले  सरकारलाई हस्तक्षेप गर्दैन : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा हस्तक्षेप नगर्ने बताएका छन्।

गठबन्धनको संयोजक बनेको भोलिपल्ट अर्थात् मंगलबार वरिष्ठ नेता पौडेलले सो बताएका हुन् ।

सोमबार बेलुका बसेको पाँच दलीय गठबन्धनको बैठकले दुई महिनाको आलोपालोमा नेतृत्व लिने संयोजक बन्ने गरी संयोजकको व्यवस्था गरिएको छ । सोहीबमोजिम पौडेल संयोजक बनेका हुन् । अबको दुई महिनापछि उनको संयोजकको समयावधि सकिनेछ ।

वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए। 

‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो। त्यो सबै किसिमले जनताप्रति, संसद्प्रति उत्तरदायी बन्छ। त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नु हुन्न। लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दख्खल दिने कुनैपनि कुरा गर्न उचित हुँदैन,’ उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.