बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने कामहरूमा ढिलाइ हुने गरेको छ ।
कर्मचारी अभावका कारण यसै महिनाको सुरुवातमा अविरल वर्षाले क्षति पुर्याएका ठाउँमा समेत प्रशासन कार्यालयको नेतृत्व पुग्न सकेको छैन । विगतमा प्रकोप भएको ठाउँमा सबैभन्दा पहिला जिल्ला विपत् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुग्ने गरेकोमा अहिले नपुगेको दशरथचन्द नगरपालिकाका३ का अजब पाण्डेयले बताए ।
उनले भने, ‘अहिले जिल्लाभरी बाढी पहिरोका घटना भए पनि प्रमुख जिल्ला अधिकारी जिल्लामा छैनन् । उहाँको गैर जिम्मेवारी देखिएको छ भने, उहाँकै निष्क्रियताका कारणसमेत प्रशासनमा कर्मचारी अभाव भएको हुनसक्छ ।’
दसैं पहिला बिदामा बसेका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे अझै पनि जिल्ला फर्किएका छैनन् । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव भएकै कारण चाडपर्वका बेला गरिनुपर्ने बजार अनुगमन कार्यसमेत हुन सकेको छैन ।
जिल्ला प्रशासन कार्यालयमा २३ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ जना मात्रै कार्यरत रहेका छन् ।
एक जना सहायक प्रमुख जिल्ला अधिकारी, एक जना प्रशासकीय अधिकृत, दुई जना नायब सुब्बा, दुई जना खरीदार र एक जना कम्प्युटर अपरेटरको दरबन्दी रिक्त रहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको दरबन्दी रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले सम्पादन गर्ने काममा माथिल्लो तहका कर्मचारी अभाव हुँदा समस्या भइरहेको भारतीको भनाई छ । अहिले एक जना मात्रै प्रशासकीय अधिकृत कार्यरत रहेका छन् । यसले गर्दा कार्यालयले सम्पादन गर्नुपर्ने काममा केही बाधा पुगेको बताइएको छ । प्रमुख जिल्ला अधिकारीसमेत पछिल्लो एक महिना यता जिल्ला बाहिर हुँदा समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव हुँदा अहिले एकै कर्मचारीले बढी जिम्मेवारी वहन गर्नुपर्ने बाध्यता रहेको छ । प्रशासन कार्यालय दैनिक सयौं सेवाग्राहीको भीड लाग्ने गरेको छ । कर्मचारी अभावका कारण सेवाग्राहीले घण्टौं लाइनमा बनुपर्ने बाध्यता रहेको पाटन नगरपालिका–६का पुष्कर भण्डारीले बताए ।