सिन्धुलीमा निषेधाज्ञा जारी

काठमाडौं । सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।

सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा एमाले कार्यकर्ता र गठबन्धनबीच विवाद भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासनका अनुसार एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । 

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो ।

कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढी गएका थिए ।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।

राति १२ बजेसम्म कमलामाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३क बमोजिल निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.