भोलिबाट सुरु हुने १२ औँ राष्ट्रिय जनगणनाकाे तयारी पूरा

काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ ।  बिहीबारदेखि देशभर सुरु हुने १२औँ राष्ट्रिय जनगणाको तयारी भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी  दिएका हुन् । 

पहिलो चरणको सूचीकरण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै भोलिदेखि पहिलो चरणबाट छुटेका घर परिवारलाई समावेश गरेर जनगणनाको मूल गणना कार्य सुरु हुने बताए । 

उनकाअनुसार जनगणनाका लागि ४० हजार हारहारीमा गणक खटिनेछन् भने ८ हजार ५०० सुरपरीक्षेक पनि संलग्न हुनेछन् ।

जनगणनाका लागि सातै प्रदेशका साथै जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना भएका छन् भने स्थानीय स्तरमा पनि ३४९ कार्यालय स्थापना भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनगणना भोलि बिहानदेखि सुरु भएर मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

महानिर्देशक पछिल्लो समय जन्मदर कम देखिएको, अन्तर्राष्ट्रिय बसाइँ सराइलगायतका कारण अहिले ३ करोड जनसंख्या भनिएपनि त्यो संख्या नपुग्ने देखिएको बताए । जनगणनाबाट आउने विवरणबाट नै जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक भूमिका आवश्यक रहेको उनको भनाइ छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.