नेपाल–भारत स्थिर विनिमय दरका अपठ्यारा

काठमाडौँ । नेपालमा प्राचीन कालदेखि नै भारतीय मुद्राको चलन थियो । नेपाल र भारतको विनिमय दर भने २०१७ सालमा कायम भएको हो । १ सय नेपाली रुपैयाँ बराबर १ सय ६० भारतीय रुपैयाँ कायम गरिएको थियो ।

२०४९ सालसम्म यो विनिमय दरमा घटबट भइरहेको थियो । २०४९ सालदेखि भने विनिमय दर स्थिर भएको छ । नेपालको वर्तमान विदेशी विनिमय दर २९ वर्षदेखि निरन्तर यथावत रहेको छ ।

नेपालले २०४० सालमा मुद्रा डालो प्रणालीमा जाने नीतिगत प्रयास गर्‍यो । मुद्रा डालोमा भारु समावेश भए तापनि भारु बाहेकका मुद्राहरुसँगको विनिमय दर मुद्रा डालो अनुसार निर्धारण हुने पद्धति २०४० देखि २०४८ सम्म चल्यो ।

नेपालले २०४८ सालदेखि २०४९ सालसम्म सङ्क्रमणकालीन करिव १ वर्षको अवधिमा आंशिक परिवर्त्य नीति अवलम्बन गर्‍यो ।

नेपालले संघीय शासन प्रणालीमा प्रवेश गरेसँगै द्वैध विनिमय दर नीति अवलम्बन गरेको छ । राष्ट्रिय योजना आयोगको पन्ध्रौ पञ्चवर्षीय योजनाले अन्तर्राष्ट्रिय आवद्वता विस्तार गर्ने उल्लेख गरेको छ ।

योजनामा पूँजी खातालाई सम्भाव्यता अध्ययनका आधारमा छनौटपूर्ण रुपमा क्रमशः परिवत्र्य बनाउदै लगिने उल्लेख गरेको छ । मुलुकको हित हुने गरी सम्भाव्यताका आधारमा विदेशमा लगानी क्रमशः खुला गर्दै लगिने र विदेशी विनिमय दर नीतिलाई पुनरावलोकन गर्दै लगिने उल्लेख छ ।

बाह्य विप्रेषण आप्रवाहको कूल गार्हस्थ उत्पादनसँगको अनुपात २५ प्रतिशतको हाराहारीमा रहेको अर्थतन्त्रमा मौद्रिक स्थिरताको वातावरण कायम गर्न स्थिर विनिमय दर प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि नेपालले लामो समयसम्म स्थिर विनिमय दर प्रणाली कायम गरेको देखिन्छ ।

नेपालको बाह्य व्यापार भारत केन्द्रित नै रहेको छ । विविध नीतिगत पहल गरिए पनि नेपालको अन्तर्राष्ट्रिय व्यापार संरचनामा ठूलो परिवर्तन आउन सकेको छैन ।

नेपालको कूल अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको भाग करिव ६५ प्रतिशत रहेको छ । यस्तो अवस्थामा मूल्य स्थिरता कायम गर्न मद्दत मिल्ने भएकाले मौद्रिक नीतिको महत्वपूर्ण अंगको रुपमा भारुसँगको स्थिर विनिमय दर प्रणालीलाई लिइएको छ ।

भारतको न्यून मुद्रास्फीतिको लाभ नेपालले स्थिर विनिमय दर प्रणालीबाट लिइरहेको छ । नेपालले विरलै दोहोरो अंकको मुद्रास्फीतिको स्थिति भोग्नुमा स्थिर विनिमय दरको महत्वपूर्ण योगदान छ । मूल्य स्थिरताले नेपालमा गरिवी न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ ।

‘नेपाल र भारतको खुला सीमाना छ, खुला सीमाना भएको कारणले गर्दा धेरै आयात निर्यात औपचारिक तथा अनौपचारिक रुपमा भइरहेको हुन्छ । आयात निर्यातको झण्डै झण्डै दुई तिहाइ कारोबार पनि भारतसँगै हुन्छ । यही कारणले गर्दा नेपालको सानो अर्थतन्त्रले किन जोखिम मोल्ने भनेर नेपाल र भारतको विनिमय दर स्थिर राखिएको हो ।’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पुष्प कँडेल बताउँछन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको भनाई छ–भारत र नेपालको अर्थतन्त्र मिल्दो जुल्दो छ । भारतीय मुद्रा र नेपालको मुद्रा स्थिर विनिमय दर राख्दा नै नेपाल भारतलाई फाइदा हुन्छ भनेर विश्व बैंकले नै निर्देशन गर्छ, त्यसैले अहिलेसम्म स्थिर छ ।

नेपाल–भारत विनिमय दर लामो समयदेखि स्थिर छ । किनभने यो विषयमा अध्ययन जति हुनुपर्ने हो, त्यति भएको छैन । यसको फाइदा, बेफाइदा पहिल्याउन सकिएको छैन । त्यसैले यो स्थिर छ । अर्थ मन्त्रालयका रितेश शाक्य बताउँछन्

वर्तमान समयमा भारतसँगको विनिमय दर स्थिर राख्न हुँदैन भन्ने सवालहरु आउन थालेका छन् । जसले गर्दा नेपाली समाजमा स्थिर राख्न हुँदैन भन्ने सोच विकास भइरहेको छ । यो विषयमा अध्ययनहरु हुन थालेको छ । अध्ययन गरेर फाइदा बेफाइदा अनुसार निर्णय गर्नुपर्ने कँडेलको धारणा छ ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको पनि धारणा एउटै छ, नेपालले भारतसँगको विनिमय दरमा जति गहन अध्ययन गर्नुपर्ने हो, त्यति अध्ययन गर्न सकेको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.