खोटाङ । बेपत्ता भएको १९ वर्षपछि शारीरिक र मानसिक रुपमा अशक्त बनेर घर फर्किएका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई उपचार खर्च जुटेको छ ।
१७ वर्षको उमेरमा ०५८ मा उनी ललितपुरको सानेपाबाट बेपत्ता भएका थिए । गत २ वैशाखमा घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) आइपुगेका विज्ञानलाई कांग्रेसका युवा नेता बाजिन्द्र विष्टको पहलमा ९१ हजार तीन सय ७२ रुपैयाँ सहयोग रकम जुटेको हो ।
फियो निकालिएको, पेट र खुट्टामा चोटको खत लागेको तथा विक्षिप्त अवस्थामा घर आइपुगेका विज्ञानको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका सहयोगी एवं शुभेच्छुकबाट सहयोग रकम जुटाइएको हो । संकलित रकम कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति प्रेमबहादुर बस्नेतले सोमबार विज्ञानका आमा देवकुमारी कोइराला र भाइ सुवास कोइरालालाई हस्तान्तरण गरेका छन् ।
कांग्रेस जन्तेढुंगा गाउँपालिका उपसभापति विष्टले विज्ञानको फियोलगायतका शारीरिक र मानसिक रोगको उपचारका लागि फेसबुकबाट आह्वान गरेपछि हाल कोरियामा रहेका विनोद कोइरालाको पहलमा ५१ हजार सात सय ७७ रुपैयाँ, कोरियामै रहेका मिलन खड्काको पहलमा २२ हजार ९५ रुपैयाँ, साउदी अरबमा रहेका दाङका महेश चौधरीबाट पाँच हजार, जापानमा रहेका भुवन खड्काबाट पाँच हजार र मलेसियामा रहेका हरि बस्नेतबाट पाँच हजार रुपैयाँ सहयोग रकम जुटेको अभियान्ता विष्टले बताए । स्वदेश तथा विदेशमा रहेका दाताबाट प्राप्त भएको रकममा स्वयं विष्टले पाँच हजार थप गरेर विज्ञानका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
साविकको चिसापानी–१ का कोइराला परिवार २०७७ पुस अन्तिम साता सुन्दरपुर बसाइँ सरेका हुन् । लामो वियोगपछि पारिवारिक मिलन भए पनि शारीरिक र मानसिक रुपमा अशक्त बनेर फर्किएका विज्ञान उपचार गर्नुपर्ने अवस्थामा छन् ।
अपरिचित व्यक्तिले अपहरण गरेर १९ वर्षसम्म घरबाहिर निस्कन नदिई बन्धक बनाएर श्रम तथा यौन शोषण गरेर राखेको विज्ञानको भनाइ छ । घरमा आएपछि विराटनगरको नोबेल अस्पताल लगिएका विज्ञानलाई थप उपचारका लागि काठमाडौंको वीर अस्पताल लैजानका लागि परामर्श दिइएको छ । उनको अर्को फियो राख्न पाँच/६ लाख खर्च आवश्यक परेपछि सहयोग रकम जुटाउन अभियान चलाइएको विष्टले बताए ।