माओवादी आन्दोलन र आफ्नो रक्षा गर्न प्रचण्डको आग्रह 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरे । 

विप्लव समूहबाट पार्टी प्रवेश गर्नेहरुलाई पार्टी प्रवेश मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । 

‘प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा तारो माओवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिध्याएसम्म हुँदोरहेनछ भनिरहेका छन्,’ उनले भने, ‘थुप्रै मार्क्स लेनिन र माओ हुँदैनन् एउटा समय र एउटा कालमा । जनता, आन्दोलन, संघर्ष, बलिदानले पैदा गर्ने हो, सही विचारले पैदा गर्ने हो । सही निर्णयहरुले पैदा गर्ने हो । यसलाई वर्ग संघर्षको रुपमा प्रतिक्रियावादीहरुले सिध्याउन खोज्छन् । जनताले त्यसलाई बचाउन खोज्छन् ।’

सो क्रममा उनले पार्टीभित्र असन्तुष्ट पक्षलाई लक्षित गर्दै जनयुद्ध कुनै लहडमा नभएको बताए । ‘एक्लै एक्लै अगाडि जाँदा क्षतविक्षत हुन सक्छन्,’उनले भने । 

पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग छलफल भइरहेको बताउँदै उनले भने,  ‘किरणको अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लवको बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन,’ उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.