चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ ।
बाघमारा चौरमा हुने भनिएको बन्दसत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मूल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
बाघमारा चौरमा जंगली जनावरले आक्रमण गर्न सक्ने खतरा रहेकोले सुरक्षाका लागि स्थान परिर्वतन गरिएको उनको भनाइ छ । सोही होटलमा बन्दसत्रको सम्पूर्ण कार्यक्रम सञ्चालन हुने मूल व्यवस्थापन समितिले जनाएको छ ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्दसत्र हुनेछ । बन्दसत्रमा भोटिङका लागि १०० विद्युतीय उपकरण प्रयोग गरिने एमालेले जनाएको छ ।
यसैबीच, मूल व्यवस्थापन समितिले शुक्रबार सौराहाका व्यवसायीसँग छलफल गरेको छ । व्यवसायीसँग आवास र खाद्य व्यवस्थापनको विषयमा छलफल गरिएको हो । सौराहामा रहेका १५० वटा होटलमा एक हजार ४५० रुम बुकिङ गर्ने तयारी गरिएको छ ।
क्षेत्रीय होटल संघ चितवन सौराहासँग सम्झौता गर्ने सहमति भए पनि अहिले सम्म सम्झौता भइसकेको छैन । मूल व्यवस्थापन समितिका सह–संयोजक तथा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको बैठकमा आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेल, खाद्य व्यवस्थापन समितिका संयोजक कपिल पोखरेल, जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन लगायतको सहभागिता थियो ।