सर्वोच्चमा शंख फुकेर भनियो–'न्याय मरिसक्यो'

काठमाडौँ ।  सर्वोच्च अदालतको मूल गेटमा एक अधिवक्ताले शङख फुके । हिन्दू परम्परामा दुई कारणले शङ्ख फुक्ने गरिन्छ, एक शुभकार्य गर्दा अर्को अशुभ घटना हुँदा अर्थात मानिसको मृत्यु हुँदा । शंख पुजा, रुद्रीजस्ता भगवानको उपासना गर्न र अर्को मानिस वितेको बेला वा अशुभ कार्यको संज्ञा दिन बजाइन्छ ।

न्यायालयको गेटमा जसरी शङख बजाइयो, त्यो शुभ संकेतको लागि बजाइएको विल्कुलै थिएन । त्यहाँ भन्न खोजिएको थियो–न्यायलायको न्याय मरिसक्यो ।

बार एशोसिएसनले घोषणा गरेको थियो, कि प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत छिर्न नदिने । यस्तो सूचना पहिला नै बाहिर आएकाले न्यायालय र गृह मन्त्रालयको संयोजनमा प्रहरी र शसस्त्र प्रहरी तैनाथ पारिएको थियो, सर्वोच्च अदालतका मूल गेटमा ।

करिब १० बज्न लाग्दै थियो । न्यायधीश राजीनामा सहितको ब्यानर र छातीमा पमप्लेटहरु टाँसेर यत्रतत्र बसेका थिए । त्यहाँ जे गर्न खोजिदै थियो, त्यो भने भएन ।

प्रधानन्यायाधीश जबरा आउने बेलामा तारा बराल सहितको टोली हातमा सेतो कपडा बाँधेर जबराले राजीनामा दिनु हुँदैन भन्ने धारणा राख्दै आक्रामक शैलीमा प्रस्तुत भइरहेका थिए ।

यही बीच त्यहाँ थुक्ने र एक–अर्कालाई गाली गलौज गर्ने जस्ता अपमानजनक गतिविधि बढ्यो र स्थिति तनावग्रस्त बन्यो ।

जबराले राजीनामा दिनु पर्छ र पर्दैन भन्ने मुद्दामा विभक्त दुवै पक्ष एक–अर्कामा कुस्ती गर्न तयार भए, हानाहान समेत भयो । शान्तिपूर्ण आन्दोलन भनिएकोमा अशाान्ति छायो र प्रहरीले तारा बरालको समूहलाई नियन्त्रणमा लियो ।

बारको अधिवक्ताहरु तनावग्रस्त स्थितिमा रुमलिएर आन्दोलन गर्दै थिए । नारा लगाउँदै थिए, प्रधानन्यायधीशको राजीनामाको मागको ।

आन्दोलन जारी थियो, अधिवक्ताहरुको ध्यान आन्दोलनमा थियो, सुरक्षाकर्मीहरु बाक्लो सङख्यामा थिए, त्यत्तिकैमा जबरा साइरन बजाउँदै आए र चोर ढोकाबाट सुटुक्क छिरिहाले । प्रधानन्यायधीश आऊलान र रोकूँला भनेर मूल ढोकामा बसेका अधिवक्ताहरुले थाहा समेत पाएनन्, प्रधानन्यायधीश सर्वोच्च छिरेको ।

अधिवक्ताले शङख नै फुके पनि जबराको कानले सुन्न सकेको छैन । उनले नसुन्नुमा कार्यपालिको ठूलो हात छ, भन्ने कुरा अहिले छताछुल्ला भएको छ ।

कुनै पनि राजनीतिक दलहरुले खुलेर बोलेका छैनन् । प्रधानमन्त्री देउवाले त झन् कार्यपालिकाले न्यायपालिकामा कुनै हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् भनिसकेका छन् । सायद यस्तै अभिव्यक्तिले होला प्रधानन्यायधीशलाई राजीनामा दिने दवाव नपरेको ।

न्यायलय नै अन्योलमा छ । केहीले व्यवस्था नै गलत भनिरहेका छन भने केहीले न्यायपालिका शुद्धीकरणको माग गरिरहेका छन् । ज–जसले जे–जे भनेपनि न्याय दिन्छु भन्नेहरु नै आन्दोलनमा उत्रिनु न्यायलय र नेपालको लागि नै लजास्पद भएको छ । राजीनामा समधान हो कि होइन यसको निर्क्योल छैन, न्यायलय आफ्नो लयमा फर्कन पनि ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.