बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले यथास्थितिमा संसद चल्न नदिने बताएका छन् ।
आइतबार पोखरेलले दुई सांसदको बारेमा संवैधानिक र कानुनी प्रश्न निरुपण नभएसम्म संसद चल्न नदिने बताएका हुन्।
पोखरेलले आइतबार प्रतिपक्षी दलको नेताको हैसियतले विशेष समय लिएर प्रदेश सभामा बोलेका थिए ।
पोखरेलले विमलाकुमारी खत्री र अजय शाही कुन दलको हो भनेर निर्वाचन आयोगले भन्नुपर्ने उल्लेख गर्दै प्रदेश सभाले कुन दलको हो भनेर निर्धारण गर्न नपाउने बताए ।
‘माननीय अजय बहादुर शाही स्वतन्त्र सांसद हो भन्नुपर्यो निर्वाचन आयोगले। माननीय विमलाकुमारी खत्री फलानो पार्टीको हो भनेर निर्वाचन आयोगले भन्नुपर्यो’ उनले भने ‘आफ्नो तर्फबाट हाम्रो हो भनेर कानूनको व्याख्या गर्ने अधिकार तपाइँहरुलाई छैन।’
पोखरेलले करिब एक घण्टा बोलेपछि प्रदेश सभा अवरोध भएको थियो ।