काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटीको बैठकमा प्रधानन्यायाधीश प्रकरणको विषयमा प्रश्न उठेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले रुलिङ गरेका छन् । बैठकमा नेपाली कांग्रेसले प्रधानन्यायाधीश वारे राजनीतिक धारणा बनाउनु पर्ने माग गरेपछि सभापति देउवाले अहिले त्यो पर्दैन भन्दै विषयान्तर गरेका छन् ।
बैठकमा न्यायालयमा विवाद भइरहेकोले सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले धारणा प्रष्ट गर्नुपर्ने माग उठेपछि प्रधानमन्त्री देउवा बिच्किएका छन् । सरकारले न्यायालयको विवाद हेरेर बस्न नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा आवाज उठ्न थालेपछि देउवाले तत्काल नै प्रतिक्रिया दिँदै त्यो अहिले पर्दैन भन्दै विषयान्तर गरेको सहभागी नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री देउवाले त्यो पर्दैन भनेपछि न्यायालयको विषयले बैठकमा प्रवेश नै नपाएको नेता प्रकाश शरण महतले क्विक नेपाललाई बताए । प्रधानन्यायाधीशको विषयमा धारणा बनाउनु पर्ने भन्दै डा. राम शरण महत र गगन थापाले विषय उत्थान गरेका थिए । त्यस लगतै सभापति देउवाले 'अहिले त्यो पर्दैन' भनेपछि सबै चुप भए, महतले भने ।